काठमाडौँ, माघ ७ । नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले भदौ २३ र २४ गतेका घटनालाई तत्कालीन सरकारको असावधानी, कमजोर सुरक्षा व्यवस्थापन र राजनीतिक दूरदृष्टिको अभावको परिणाम भएको बताएका छन्।
ताप्लेजुङबाट प्रतिनिधिसभा उम्मेदवार क्षितिज थेबेको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी हुन फुङलिङ आएका भट्टराईले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै सुरक्षा फौजको सही ढंगले परिचालन हुन नसक्दा र आन्दोलनरत पक्षसँग वार्ताप्रति सरकार उदासीन हुँदा अवस्था नियन्त्रण बाहिर गएको बताए। सोही कारण नवयुवाहरूले ज्यान गुमाउनु परेको उनले प्रष्ट्याए।
भट्टराईले भदौ २४ गतेको घटनालाई संगठनात्मक र सुनियोजित विध्वंसको संज्ञा दिँदै भदौ २३ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएर संसद्मार्फत सरकार गठनको प्रक्रिया अघि बढाएको भए संसद् जोगिने अवस्था रहेको दाबी गरे।




