काठमाडौँ । चीनले कन्डममा कर लगाएको छ । जनवरी १ देखि चिनियाँ जनताले गर्भ निरोधकहरूमा १३ प्रतिशत बिक्री कर तिर्नु पर्नेछ । बाल हेरचाह सेवाहरूमा भने छुट दिइनेछन् । हालैका वर्षहरूमा जन्मदर कीर्तिमानी न्यून स्तरमा ओर्लिएर जनसङ्ख्या घट्दै गएपछि चीन जनसङ्ख्या बढाउने प्रयासमा छ ।
गत वर्षको अन्त्यमा घोषणा गरिएको कर प्रणालीको पुनर्संरचनाले १९९४ देखि लागू रहेका धेरै छुटहरूलाई हटाएको छ । यसले विवाहसँग सम्बन्धित सेवाहरू र वृद्ध हेरचाहलाई मूल्य अभिवृद्धि करमा पनि छुट दिएको छ । सुत्केरी बिदा बढाउने र सन्तान जन्माए बापत नगद प्रोत्साहन दिने लगायतका उपाय पनि अपनाइएको छ ।
वृद्ध जनसङ्ख्या बढिरहेको र अर्थतन्त्र सुस्ताइरहेको अवस्थामा चीनले युवा चिनियाँहरूलाई विवाह गर्न र बच्चा जन्माउन प्रोत्साहित गरिरहेको छ । २०२४ मा चीनमा ९ करोड ५४ लाख शिशु जन्मिएका छन् । योसँगै लगातार चीनको जनसङ्ख्या घटेको आधिकारिक तथ्याङ्कले देखाएको छ । यो एक दशक अघिको कीर्तिमानी स्तरको तुलनामा झन्डै आधा हो ।
सरकारको यो नीतिको अहिले आलोचना भइरहेको छ । पछिल्लो समय बच्चा बच्ची हुर्काउने खर्च बढेको छ। यस्तोमा केहीले बच्चा जन्माउनु कन्डममा कर तिर्नुभन्दा धेरै महँगो छ भन्दै सरकारको यो नीति ठट्टामा उडाइरहेका छन् ।
चीन बच्चा हुर्काउने सबैभन्दा महँगो देशहरू मध्ये एक हो । यहाँ विद्यालयको पढाई पनि महँगो छ । यस्तोमा कामकाजी आमाले काम र बच्चा हुर्काउनबीचको तालमेल मिलाउन नसक्नु अर्को समस्या बनेको बेइजिङमा रहेको युवा पपुलेशन रिसर्च इन्स्टिच्युटले २०२४ मा सार्वजनिक गरेको प्रतिवेदनले देखाएको थियो ।
घर जग्गा बजारमा आएको सङ्कटले गर्दा उत्पन्न आर्थिक मन्दीले परिवारहरू र विशेष गरी युवाहरूलाई आफ्नो भविष्यबारे चिन्तित छन् । यस्तोमा सन्तान जन्माउने र परिवार बढाउनेबारे धेरैले सोच्न छाडेका छन् ।



