काठमाडौँ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रैथाने कृषि उपजको नयाँ मूल्य निर्धारण गरेको हो । पालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ६० रुपैयाँ तोकेको छ । पालिकाले तिते फापर प्रतिकिलो ९० रुपैयाँ र मिठे फापरको १ सय ५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
जुनेलोको समर्थन मूल्य प्रतिकेजी ८४ रुपैयाँ, सेतो सिमी प्रतिकिलो १ सय २० र कालो सिमी १ सय ३० रुपैयाँ निर्धारण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख गोपाल लम्सालले बताए । पालिकाले विगत वर्षमा जस्तै कृषक, कृषक समूह र सहकारी संस्था मार्फत रैथाने बाली खरिदबिक्री गरी किसानलाई अनुदान बापतको रकम प्रदान गरिने जनाएको छ ।




