काठमाडौं, कात्तिक २९ । अर्थ मन्त्रालयले फागुन २१ गते तय भएको चुनावका लागि निर्वाचन आयोगलाई ४ अर्ब ९६ करोड रूपैयाँ बजेट दिने निर्णय गरेको छ।
निर्वाचन आयोगको तर्फबाट ७ अर्ब ८० करोड रूपैयाँको बजेट माग गरिएकोमा ४ अर्ब ९६ करोड रूपैयाँ मात्रै स्वीकृत गरिएको अर्थ स्रोतले जानकारी दिएको छ।
फागुन २१ गते प्रतिनिधि सभाको मात्रै निर्वाचन हुने भएकाले पनि मन्त्रालयले अघिल्लो चुनावहरूको तुलनामा कम बजेट निकासा गर्ने भएको हो।
अर्थमन्त्री रामेश्वर खनालले यसअघि नै निर्वाचन आयोगका आयुक्तहरूसँगको छलफलमा मितव्ययी भएर खर्च गर्न आग्रह गरेका थिए।
आयोगका एक आयुक्तका अनुसार २०७९ सालको निर्वाचनमा माग गरेको बजेट खर्च नभएपछि ३ अर्ब रूपैयाँ फिर्ता गरिएको थियो।




