धनगढी, चैत ८ गते । सुदूरपश्चिम प्रदेशमा रहेको दुई मुख्य नाकाबाट एकै दिन १७ हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।
छिमेकी राष्ट्र भारतको विभिन्न राज्यमा कोरोना भाइरस अर्थात कोभिड–१९ को सङ्क्रमण फैलिदैं गएपछि त्यहाँ रहेका नेपाली धमाधम घर फर्किन लागेका हुन । शनिबार दिउँसोसम्ममात्रै कञ्चनपुरको गड्डाचौकी नाकाबाट १३ हजार र कैलालीको त्रिनगर भन्सार नाकाबाट चार हजार नेपाली स्वदेश फर्केका छन् ।
विहानै दुवै नाकामा अत्यधिक नेपाली पुगेपछि उनीहरुलाई चेकजाँच गरेर मुलुकभित्र आउन दिन हम्मे–हम्मे भएको थियो । नाकामा स्थापना भएका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीलेमात्रै चेकजाँच गर्न सम्भव नभएपछि तत्काल दुवै नाकामा नेपाली सेनालेसमेत हेल्थ डेस्क स्थापना गरेर भारतबाट फर्किनेहरुको स्वास्थ्य चेकजाँच गरेको थियो ।
रोजगारीको सिलसिलामा सुदूरपश्चिमबाट धेरै नेपालीहरु कामको लागि भारत जाने गरेका छन् । कोरोना सङ्क्रमणको त्रास बढेपछि उनीहरु फर्किनेक्रम जारी रहेको छ । यसैबीच, गड्डाचौकी नाकाबाट भारतीय गाडीहरु नेपाल प्रवेशमा रोक लगाइएको छ ।

यस्तै, भारतीय बजारमा किनमेल गर्न जाने कार्यमा पनि दुवै नाकामा रोक लगाइएको छ । कैलाली, कञ्चनपुरका विभिन्न ठाउँका स्थानीय दैनिक उपभोग्य वस्तु किनमेलका लागि सीमावर्ती भारतीय बजारमा पुग्ने गरेका छन् । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गरेर यताबाट पारि जान रोक लगाइएको हो । यो खबर आजको गोरखापत्र देनिकमा छ ।




