काठमाडौँ, फागुन १४ । चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को त्रास पछिल्लो समय विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ ।
नेपाल आवतजावत गर्ने क्रममा रोग भित्रिन सक्ने भएकाले नेपाल जोखिममा रहेको भन्दै सतर्कता अपनाउन थालिएको हो । विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले दक्षिण कोरिया र नेपालबीच हवाई आवतजावत भएकाले नेपाल पनि जोखिममा रहेकाले सतर्कता अपनाउन थालिएको जानकारी दिनुभयो । हाल नेपालमा कोरोना सङ्क्रमण नभएको उहाँले स्पष्ट पार्नुभयो ।
पछिल्ला दिनमा दक्षिण कोरियामा फैलिएको कोरोनाबाट नौ जनाको मृत्यु भएको छ भने सयौँ जना सङ्क्रमित भइसकेका छन् । दक्षिण कोरिया र नेपालबीच हवाई आवतजावत भइरहने हुनाले नेपाल उच्च जोखिममा रहेको छ ।

नेपालीको ठूलो सङ्ख्या दक्षिण कोरियामा रहेका छन् । आफू महानिर्देशक भइसकेपछिको मुख्य काम पनि कोरोना भाइरसलाई नेपाल छिर्न नदिन उच्च कदम चाल्नु रहेको भन्दै उहाँले विमानस्थलमा सरकारले उच्च सतर्कता अपनाएको जानकारी दिनुभयो । दक्षिण कोरियामा पनि व्यापक मात्रामा फैलिएको हुँदा नेपालमा समेत उच्च सतर्कता अपनाउनुपर्ने स्पष्ट पार्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।




