आश्विन ११,काठमाडौँ । अमेरिकी डलरको भाउ निरन्तर रूपमा उकालो लागेपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ। अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा (नेरु)हालसम्मकै कमजोर बनेको हो। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३०.९० रुपैयाँ (बिक्रीदर)तोकेको छ । सोही अवधिमा एक अमेरिकी डलरको खरिद दर १३०.३० रुपैयाँ तय गरेको छ । यो हालसम्मकै उच्च हो । पछिल्लो एक महिनायता गत शुक्रबार नयाँ रेकर्ड बनाएको डलरको भाउले त्यसयता हरेक दिनजसो नयाँ उचाइ बनाउँदै आएको छ ।
गत साउन ५ मा एक अमेरिकी डलरको विनिमय दर १२.२९ रुपैयाँ पुगेको थियो । त्यसपछि घट्न थालेको विनिमय दर गत साउन १८ मा १२६.२५ रुपैयाँसम्म झरेको थियो । त्यसयता डलरको भाउ फेरि उकालो लाग्न थालेको छ । यसअनुसार गत शुक्रबार डलरको भाउ १२९.६८ रुपैयाँ र शनिबारदेखि सोमबारसम्म १२९.८९ रुपैयाँ पुगेको थियो । राष्ट्र बैंकका अनुसार ०७८ असार मसान्तको तुलनामा ०७९ असारसम्म अमेरिकी डलरसँग नेपाली रुपैयाँ ७ प्रतिशतले अवमूल्यन भएको थियो । तर, ०७९ असार मसान्तको तुलनामा गत साउनमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ०.३ प्रतिशतले अधिमूल्यन भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.५ प्रतिशतले अधिमूल्यन भएको थियो ।
हाल विश्व बजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घटेको जानकारहरू बताउँछन् । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । सोमबार साँझ १० बजे ९नेपाली समय० सम्म एक अमेरिकी डलरको विनिमय दर भारु ८१.६० पुगेको थियो । गत शनिबार यस्तो दर भारु ८१.११ रहेको थियो । पछिल्ला महिनाहरूमा अमेरिकी अर्थतन्त्रमा सुधारका संकेत देखिएकाले अमेरिकी डलरप्रति लगानीकर्ताको आकर्षण बढेको छ ।
जानकारहरू अनुसार डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम)बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलरको भाउ बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउने जानकारहरू बताउँछन् । गत साउन र भदौमा रेमिट्यान्स आप्रवाहमा सुधार आउनुमा एउटा कारण डलरको भाउमा बढोत्तरी पनि रहेको हो। डलर बलियो भएको समयमा धेरैभन्दा धेरै पर्यटक भित्र्याएर र ठूलो परिमाणमा निर्यात गरेर पनि लाभ लिन सकिन्छ ।
नेपालको संरचनात्मक समस्याका कारण तत्कालै न त निर्यात बढाउन सकिन्छ न त पर्यटक नै बढाउन सकिन्छ । यसकारण अहिले डलरको भाउ बढेका बेला नेपालमा लाभ लिन सक्ने अवसर निकै कम छ । डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । डलरको भाउ बढ्दा त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व पनि बढिरहेको हुन्छ । यद्यपि पछिल्ला महिनामा आयातको वृद्धिदरमा कमी आएको छ । नेरु कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्व बढ्छ । विदेशबाट लिएको ऋणको साँवाब्याज भुक्तानीका लागि पनि धेरै रकम तिर्नुपर्छ । पछिल्ला महिनामा नेपाली विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायतका लागि जाने क्रम ह्वात्तै बढेको छ । डलर महँगो भएको समयमा विदेशमा औषधोपचार, अध्ययन, भ्रमण खर्चर् महँगो हुने भएकाले धेरै विदेशी मुद्रा राष्ट्रबाट बाहिरिन्छ । त्यसै पनि विदेशी मुद्रा सञ्चिति कम भएको समयमा ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिँदा अर्थतन्त्र झनै अप्ठ्यारो अवस्थामा जाने सम्भावना रहने जानकारहरू बताउँछन् । यस्तै निरन्तर नेरु कमजोर बन्दै जाँदा भुक्तानी दायित्व बढ्ने मात्र नभएर स्वदेशी मुद्राप्रतिको विश्वासमा पनि कमी आउने अर्थविद्हरूको तर्क छ ।




