इरानमा २००९ पछिकै ठुलो सरकार विरोधी प्रदर्शन

`

     २०७९ आश्विन ०९ गते ९:५९

एजेन्सि, असोज ९ । इरानमा सन् २००९ पछिकै सबैभन्दा ठूलो सरकार विरोधी प्रदर्शन भएको छ।

हिजाबको आदेश उल्लङ्घन गरेको आरोपमा प्रहरी हिरासतमा रहेकी २२ वर्षीया युवती महसा अमिनीको मृत्यु भएपछि चर्किएको राष्ट्रव्यापी विद्रोहले इरानमा उग्र रूप लिएको हो।

दमनकारी सरकारी नियम र खराब अर्थतन्त्रबाट दिक्क भएका इरानीहरूले इस्लामिक गणतन्त्रको शासन अन्त्यको माग गर्दै आन्दोलन चर्काएका छन्।

विरोध प्रदर्शनमा ठूलो संख्यामा महिला सामेल छन्। उनीहरू महिलाहरूका लागि सार्वजनिक स्थानमा टाउको ढाक्नुपर्ने र खुकुलो कपडा लगाउनुपर्ने नियमको विरोध गरिरहेका छन्। प्रदर्शन देशको कमजोर अर्थतन्त्र र भ्रष्टाचारतिर लक्षित हुन थालेको छ। लामो समयसम्म अमेरिकी प्रतिबन्धका कारण इरानी अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ र यसले आम जीवनको दैनिकीमै असर गरेको छ।

८० भन्दा बढी सहरमा फैलिएको प्रदर्शनका कम्तिमा ५० जनाले ज्यान गुमाइसकेका छन्। पत्रकारसहित सयौं पक्राउ परेका छन्।

राष्ट्रपति राइसीले विरोध प्रदर्शन गर्नेलाई कडा कारबाहीको सामना गर्न चेतावनीसमेत दिएका हुन्। राष्ट्रपति राईसीले अमिनीको मृत्युको छानबिन गरिने बताएका छन्।

टाउको छोपेको स्कार्फमुनि केही कपाल देखिएको आरोपमा सेप्टेम्बर १३ मा अमिनीलाई आचार तथा व्यवहार निगरानी गर्ने प्रहरीले तेहरानमा गिरफ्तार गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?