काठमाडौं, असोज ६ । नेपाल प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित ९ जनालाई पक्राउ गरेको छ। डिभी परेपछि भिसा पक्रियामा कक्षा १२ को शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेका ९ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार पक्राउ पर्नेमा पाँचथर घर भई दमक बस्ने २५ वर्षीय समिर राई, कास्कीका ४० वर्षीय अरूण कार्की, नुवाकोट घर भई टोखा बस्ने २५ वर्षीय राधिका तामाङ र स्याङ्जा घर भई बसुन्धारा बस्ने ३८ वर्षीय सविता श्रेष्ठ छन्। यस्तै अछामका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापाका ४६ वर्षीय विदुर प्याकुरेल, ४० वर्षीय दिनेश प्रसाई र ४७ वर्षीय सूर्यबहादुर श्रेष्ठ छन्।
उपरीक्षक रेग्मीका अनुसार उनीहरूलाई बिहीबार अमेरिकी दूतावासबाटै पक्राउ गरिएको हो। ‘उनीहरूले सन् २०२१ मा डिभी भरेका रहेछन्,’ उनले सर्बोच्च मिडियासँग भने, ‘डिभीको नतिजामा नाम निस्कियो। त्यसपछि उनीहरू भिसा प्रक्रियामा जानुपर्थ्यो। जसको लागि कक्षा १२ को शैक्षिक प्रमाणपत्र आवश्यक पर्ने भएकाले उनीहरूले नक्कली प्रमाणपत्र बुझाएका थिए।’
उनीहरूले डिभी परेर अमेरिका जान शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नैपर्ने बाध्यता भएपछि नक्कली प्रमाणपत्र बनाएर दूतावासमा बुझाएको प्रहरी उपरीक्षक रेग्मीले बताए। उनका अनुसार पक्राउ परेकामध्ये दिनेश र सूर्यले नक्कली प्रमाणपत्र बनाउने गरेका थिए। उनीहरू दुवै स्टुडियो सञ्चालक हुन्। प्रहरीले उनीहरू दुवैलाई झापाबाट पक्राउ गरेको हो। अमेरिकी दूतावासले केही व्यक्तिहरूको शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको भन्दै प्रहरीलाई खबर गरेको थियो।
‘उनीहरूले नक्कली शैक्षिक प्रमाणपत्र बनाउन १५ हजारदेखि ८ लाखसम्म तिरेका रहेछन्’, उनले भने, ‘प्रायले बाहिरी जिल्लाबाटै नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अनुसन्धानको क्रममा खुलेको छ।’प्रहरीले उनीहरूको साथबाट ८ थान शैक्षिक प्रमाणपत्र र पाँच थान राहदानी बरामद गरेको छ। पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



