बार्सिलोनाले आफ्नै चार खेलाडीविरुद्ध अदालत जाने तयारी

`

     २०७९ श्रावण २५ गते २:४८

काठमाडौँ, साउन २५ । बार्सिलोनाले आफ्नै चार खेलाडीविरुद्ध अदालत जाने तयारी गरेको छ । मिडिया रिपोर्टका अनुसार बार्सिलोना आफ्नै खेलाडी फ्रेन्की डी जोंग, जेरार्ड पिके, क्लेमेन्ट लेंगलेट र मार्क एन्ड्रे टेर स्टेगेनविरुद्ध अदालत जाने तयारी गरेको हो ।

बार्सिलोनाको अहिलेको व्यवस्थापनले यी चारै खेलाडीले २०२० मा गरेको सम्झौता नवीकरणमा अनियमितता भएको भन्दै पूर्ववत सम्झौता अनुसार जाने गरेको आग्रह खेलाडीले नमाने पछि अदालत जाने तयारि गरेको बताइएको छ । बार्सिलोनाका तात्कालिन अध्यक्ष जोसेप बार्टोमेउले आफ्नो पद जानु एक साता अघि मात्र सो सम्झौता नवीकरण गरेका थिए ।

सो सम्झौता अनुसार पिकेको २०२४ सम्म, टेर स्तेगेनको २०२५ सम्म तथा डी जोंग र लेंगलेटको २०२६ सम्म सम्झौता रहेको छ । सम्झौता नवीकरणबाट बार्सिलोनाले दिर्घकालमा ३११ मिलियन युरो थप बेहोर्नुपर्ने भएपछि यो विषय पेचिलो बनेको देखिएको छ ।

बार्सिलोनाले डी जोंगसहितका खेलाडीलाई सम्झौता पूर्ववत रुपमा लागु गर्न आग्रह गरेको भएपनि खेलाडीहरुले अस्वीकार गरेको बताइएको छ । बार्सिलोनाले आर्थिक अभावका बीच खेलाडीहरुसँग पारिश्रमिक घटाउने विषयमा पटक पटक छलफल गरेपनि चार खेलाडीसँग कुरा नमिले पछि कानुनी उपचारमा जाने बाटो रोजेको मिडिया रिपोर्टमा उल्लेख छ ।

नेदरल्याण्डका खेलाडी डी जोंगलाइ बार्सिलोनाले यस ट्रान्सफर विन्डोमा बेच्ने प्रयास गरेको भएपनि उनले बार्सिलोना छोड्न इच्छा नदेखाएपछि यो विषय झन् विवादित देखिएको छ ।

बार्सिलोनाको आर्थिक अभावका कारण नयाँ भित्राएका रोबेर्ट लेवानडोस्कीसहितका खेलाडीलाई ला लिगामा दर्ता गर्न समेत समय लागिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?