नेपाल प्रहरीमा उत्कृष्ट कामका आधारमा आठ जनाको विशेष बढुवा

`

     २०७९ आषाढ ३२ गते ७:४१

काठमाडौं, असार ३२, शनिबार । २०६७ को वैशाखमा असइमा भर्ना भएका योगेश महर्जन त्यसयता निरन्तर अपराधमा शंकित व्यक्तिको स्केच र घटनास्थलको फोटोग्राफीमार्फत अनुसन्धानमा सघाउँदै आएका छन् । उनी ललितकताका विद्यार्थी हुन् । कला र अपराध अनुसन्धान फरक विषय हुन्, तर उनको ‘स्केच’सम्बन्धी कला नेपाल प्रहरीको अपराध अनुसन्धानको अभिन्न अंग बन्न पुग्यो । महर्जन स्केच बनाउन निपुण भएको थाहा पाएपछि तत्कालीन डिएसपी हृदय थापाले महानगरीय अपराध अनुसन्धान महाशाखा (हाल – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय)मा लगेर त्यही काममा खटाएका थिए । त्यसयता उनी दर्जनौँ घटनाका अभियुक्त पत्ता लगाउन सहयोगीको भूमिकामा खटिँदै आएका छन् । महर्जनले कोरेका स्केचकै कारण धेरै घटनाका अभियुक्त पक्राउ परेको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए । त्यही कामको मूल्यांकन गरी प्रहरीले उनलाई नायब निरीक्षक (सइ)बाट वरिष्ठ नायब निरीक्षकमा बढुवा गरेको छ ।

योगेश महर्जनको प्रहरीमा स्केच यात्रा बेसिक तालिम नसकिँदै सुरु भएको थियो । तालिमका क्रममा उनी स्केच बनाएर सूचना पाटीमा टाँस्ने गर्दथे । तत्कालीन डिएसपी थापाले त्यो देखेपछि उनीबारे सोधीखोजी गरेर पासआउट भएलगत्तै यससम्बन्धी विशेष जिम्मेवारीमा खटाएका थिए । ९ चैत ०६७ मा तालिम सकिएपछि १९ चैतदेखि उनी हालसम्म त्यही कार्यालयमा खटिएका छन् । तालिम नसकिँदै पनि उनले स्केच बनाएर अपराध अनुसन्धानमा सघाएका थिए । ०६७ को माघमा केन्द्रीय कारागारभित्र युनुस अन्सारीमाथि गोली प्रहार भयो । सो घटनामा गोली हान्ने व्यक्ति तत्कालै पक्राउ परे पनि हान्न लगाउने राम सिंह नामक व्यक्ति फरार थिए । तिनै राम सिंहको स्केच बनाएर उनले प्रहरीको अपराध अनुसन्धानमा आफ्नो योगदान सुरु गरेका थिए । अपहरण, हत्या, लुटपाट, चोरी, ठगीलगायतका घटनामा फरार भएकाको दुई सय ५० भन्दा बढी स्केच बनाएर उनले अपराध अनुसन्धानमा प्रभावकारी भूमिका खेलेको प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले बताए ।

महर्जनले बनाएको स्केचकै आधारमा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम र निर्माण व्यवसायी शरदकुमार गौचनको गोली हानी भएको हत्या घटनाका आरोपीको पनि अपराधीसम्म पुग्न प्रहरीलाई सहज भएको थियो । बाराको कलैयामा नौ वर्षीया बालिकाको जबर्जस्ती करणीपश्चात् भएको हत्या घटना, मेगा र राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट भएको ठगी घटना उनले बनाएको स्केच अनुसन्धानको माध्यम बनेको थियो । ०७२ को महाभूकम्पमा परी ज्यान गुमाएका चार सय ७९ शवको सनाखत हुन सकेको थिएन । त्यसको फोटोग्राफीमार्फत सनाखत गराउन पनि महर्जनको महत्वपूर्ण भूमिका थियो । २८ फागुन ०७४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगलाको विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको शव सनाखतमा पनि उनकै भूमिका थियो । गत १५ जेठमा तारा एयरको विमान मुस्ताङमा दुर्घटना हुँदा कतिपयको शव चिन्न सकिने अवस्थामा थिएन । त्यसमा पनि उनले नै सनाखतको काम गरेका थिए । कतिपय घटनामा सिसिटिभीमा अभियुक्तको अनुहार अस्पष्ट देखिएको अवस्थामा समेत स्केचमार्फत उनले सनाखत गर्दै आएका छन् । आफ्नो कामको मूल्यांकन गरेर विशेष बढुवा गर्दा निकै खुसी लागेको महर्जनले बताए । ‘विशेष बढुवाको छुट्टै महत्व छ,’ उनले भने, ‘संगठनले कामले मूल्यांकन गरेकोमा खुसी छु ।’

प्रहरीको नीति निर्माण समितिको सिफारिसमा विभिन्न क्षेत्रमा सर्वोत्कृष्ट काम गर्ने प्रहरीको विशेष बढुवा गरिएको प्रहरी प्रवक्ता राईले बताए । आ–आफ्नो ठाउँबाट प्रहरीलाई उत्कृष्ट योगदान गर्दै महर्जनसँगै आठ प्रहरीलाई आइजिपी धिरजप्रताप सिंहले बुधबार बढुवा गरेका छन् ।सानो पदमा रहेर ठूला काम गर्दै आएका अर्का जुनियर प्रहरी अधिकृत हुन्– विष्णुप्रसाद अधिकारी । एआइजी प्रमुख हुने प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागमा लामो समयदेखि कार्यरत उनले प्रहरीमा रिक्त विभिन्न पदमा नयाँ भर्ना प्रक्रियाका लागि लोकसेवा आयोग तथा गृह मन्त्रालयसँग आवश्यक समन्वय गरी समयमै भर्ना छनोट प्रक्रिया त्रुटिरहित ढंगले सम्पादन गर्न सहयोग गर्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी नायब निरीक्षक रहेका अधिकारीलाई वरिष्ठ नायब निरीक्षकमा बढुवा गरिएको छ । खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने विभिन्न पदको पाठ्यक्रम परिमार्जनका लागि समयमै प्रतिवेदन गरी उनले पाठ्यक्रम परिमार्जन तथा स्वीकृतिका लागि उत्कृष्ट ढंगले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

घटनास्थल अनुसन्धान अधिकृत (सोको) तालिममा तालिम सहयोगीका रूपमा उत्कृष्ट काम गरेका आधारमा नेपाल प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा कार्यरत मञ्जुकुमारी चौधरी नायब निरीक्षकबाट वरिष्ठ नायब निरीक्षकमा विशेष बढुवा गरिएको छ । सानो पदमा भए पनि ठूला घटनाको सफल अनुसन्धान गर्दै आएका अर्का जुनियर प्रहरी अधिकृत हुन्– केशव जोशी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत उनी दर्जनौँ ठूला घटनाका अभियुक्त पक्राउ गर्न सफल भएका छन् । कर्तव्य ज्यानसम्बन्धी विभिन्न घटनाको सफल अनुसन्धान गरी संलग्न व्यक्तिहरू पक्राउ गर्नुका साथै फरार प्रतिवादीको खोजी कार्यमा सक्रिय रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गत वर्ष बाराको सिमरा–जितपुरबाट एक हजार आठ सय पाँच कार्टुन खानेतेल बिक्री गरी फरार रहेको ट्रकचालक मदनराज पाण्डेयलाई जोशीले भारतको बेंग्लोरबाट पक्राउ गरी नेपाल ल्याएका थिए । कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट ठूला लागुऔषध कारोबारीलाई उनले पक्राउ गरेका छन् । नायब निरीक्षकबाट उनको पनि वरिष्ठ नायब निरीक्षकमा बढुवा भएको छ ।

आर्थिक वर्ष ०७८\७९ मा दाङ जिल्ला अन्तर्गतका विभिन्न स्थानबाट लागुऔषधसम्बन्धी अपराधमा अभियुक्तलाई पक्राउ गरी २६ वटा मुद्दा दर्ता गर्नुमा युवराज गौतमको भूमिका थियो । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत युवराज गौतमले पनि दर्जनौँ ठूला अपराध सुल्झाएका छन् । गत वर्ष दुईजनालाई दुई पेस्तोलसहित उनले पक्राउ गरेका थिए । दाङका विभिन्न स्थानबाट रेड पान्डा र बाघको छाला, जरायोको सिङ, चितुवाको छाला, कस्तुरीको विनालगायतका प्रतिबन्धित वन्यजन्तुसँग सम्बन्धित वस्तुको ओसारपसार तथा बिक्री–वितरणमा संलग्न व्यक्तिलाई पक्राउ गरी उत्कृष्ट तवरले अनुसन्धानमा सहयोग पुर्‍याएको आधारमा उनलाई प्रहरी नायब निरीक्षकबाट वरिष्ठ प्रहरी निरीक्षकमा बढुवा गरिएको हो ।

विष्णु थापा क्षेत्रीले हत्याकाण्डसम्बन्धी वर्षौँ पुराना फाइल पल्टाएर विदेशबाट समेत अभियुक्त पक्राउ गर्न पहल गरे । कास्कीको रामबजारस्थित वडा प्रहरी कार्यालयमा कार्यरत विष्णु थापा क्षेत्री पदले हालै हवल्दार भएका छन्, तर पछिल्लो एक वर्षमा उनले सिनियर अधिकृतले भन्दा महत्वपूर्ण काम गरेका छन् । ०६३ वैशाखमा कास्कीमा धरानका रोजन राईको हत्या भयो । १६ वर्षसम्म अभियुक्तको पत्ता लागेको थिएन । उनले अनुसन्धान गर्दा अभियुक्त अशोक गुरुङलाई इन्टरपोलको सहयोगमा गत फागुनमा बहराइनबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । ०६३ मै पोखराका व्यास घिमिरेलाई खुकुरी प्रहार गरी हत्या गर्ने व्यक्तिलाई पहिचान गर्न पनि उनको भूमिका रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । १५ असार ०७७ मा कास्कीको मादीमा कोपिला परियारको बलात्कारपछि हत्या घटनाका अभियुक्तलाई उनी नै पक्राउ गर्न सफल भएका थिए । पोखरामा हुने संगठित ठगी तथा लागुऔषधसम्बन्धी अपराधमा संलग्नलाई पनि उनले पक्राउ गर्दै आएका छन् ।

सांसद अफताब आलमसमेत संलग्न भएको राजपुर हत्याकाण्डका दुई अभियुक्तलाई राजमंगल सिंहले पक्राउ गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत हवल्दार राजमंगल सिंहलाई पनि प्रहरी प्रधान कार्यालयले विशेष बढुवा गरी वरिष्ठ हवल्दार बनाएको छ । त्यस्तै, दुई वर्षअघि रौतहट माधवनारायण– २ खेसरहिया बजारस्थित हनुमान मन्दिरको पुजारी श्रीराम साह तेलीलाई गोली हानी हत्या गरेको घटनामा संलग्न अभियुक्त उनकै मिहिनेतपछि पक्राउ परेका थिए । वृन्दावन– ४ मा १४ वर्षकी बालिकालाई जबर्जस्ती करणीपश्चात् हत्या गरी फरार रहेका प्रतिवादी चनु साह तेलीलाई पक्राउ गर्न उनी सफल भएका थिए । महोत्तरीको पिपरा गाउँपालिका– ५ बस्ने मोसाफिर झा र गीतादेवी झाको हत्या घटना, सर्लाहीको मलंगवा– ९ बस्ने सुशीलकुमार यादवको हत्यामा संलग्न, रौतहटको भगवती गाउँपालिका– ३ स्थित बागमती खोलामा घाँटी र टाउको नरहेको अवस्थामा भारतीय नागरिक आसनारायण साहको हत्यामा संलग्न तथा रौतहटको राजपुर नगरपालिका– २ मा मोतीलाल पटेलको छोरी १४ वर्षीया बालिकालाई अपहरण गरेको घटनाको पनि सफल अनुसन्धान गर्न सिंहको महत्वपूर्ण भूमिका थियो ।

विदेश पठाउन लागिएको चरेससहित विगतमा विभिन्न गिरोहलाई पक्राउ गर्न सफल हुनुमा हवल्दार नवराज घिसिङको भूमिका रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरोमा लामो समयदेखि कार्यरत हवल्दार नवराज घिसिङ विशेष बढुवा पाउने अर्का प्रहरी हुन् । हालै ब्युरोले ५१ केजी हेरोइन बरामद घटनाको अनुसन्धानमा उनी पनि खटिएका थिए । विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई छनोट गरी प्रहरी नियमावलीको प्रावधानअनुसार आठजनाको विशेष बढुवा गरिएको प्रहरी प्रवक्ता राईले बताए । ‘यस्तो प्रावधानले उत्कृष्ट काम गर्ने प्रहरीको मनोबल उच्च हुने हाम्रो विश्वास छ,’ उनले भने, ‘राम्रो काम गर्ने कर्मचारीको संगठनले सधैँ उचित मूल्यांकन गर्दछ ।’

सर्वोत्कृष्ट काम गर्नेले राजपत्रअनंकित पदसम्म एक तह विशेष बढुवा पाउने प्रावधान छ । प्रहरी नियमावलीको नियम ३९ मा विशेष बढुवासम्बन्धी व्यवस्था छ । प्रहरी कार्यालयको मान, प्रतिष्ठा, गौरव बढाउने काम गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विभिन्न विधामा उत्कृष्ट कार्य गरी राष्ट्र र प्रहरीको छवि उच्च राख्ने प्रहरीलाई विशेष बढुवा गरिने नियमावलीमा उल्लेख छ । एक वर्षमा उत्कृष्ट काम गर्ने बढीमा १० जनासम्मले यस्तो बढुवा पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?