काठमाडौं, असार २८ । किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना टिपर चालक पक्राउ परेका छन् । १७ वर्षीय किशोरीलाई बलात्कार गरी फरार रहेको आरोपमा दोलखाको गौरीशंकर गाउँपालिका-८ घर भएका ज्ञानबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार दोलखाबाट-काठमाडौंतर्फ आउँदै गरेको टिपरमा चढेकी किशोरीलाई घर पुर्याइदिने भनी चन्द्रगिरि नगरपालिका-७ थानकोटमा पार्किङ गरेर चालक ज्ञानबहादुरले टिपरमै बलात्कार गरेको प्रहरीको दाबी छ ।
किशोरीलाई बलात्कार गरी चालक टिपर छोडेर फरार भएको खबर पाउनसाथ खटिएको प्रहरी वृत्त थानकोटको टोलीले ज्ञानबहादुर काठमाडौं महानगरपालिका-१४ कलंकीबाट पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गराई करणीसम्बन्धी कसुरमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।




