सीमा क्षेत्रमा भइरहेको आवतजावतका कारण कोरोना सङ्क्रमणको सङ्ख्या बढ्दै

`

     २०७९ आषाढ २४ गते ३:०९

काठमाडौँ,असार २४ । सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढेको पाइएको छ । पर्साको वीरगञ्ज नाका भई नेपाल प्रवेश गर्नेमा कोरोना सङ्क्रमण पुष्टि हुने क्रम बढ्दै गएको हो । गत चैत र वैशाखमा एन्टिजेन विधिबाट परीक्षण गर्दा एक जनामा पनि सङ्क्रमण पुष्टि भएको थिएन । तर जेठमा तीन जनामा सङ्क्रमण देखिएकोमा असार २३ गतेसम्म १६ जनामा सङ्क्रमण देखिएको डेस्क इञ्चार्ज डा अनिसा महतोले जानकारी दिए ।

गत चैत र वैशाखमा ३ हजारभन्दा बढीको एन्टिजेन परीक्षण गर्दा एक जनामा पनि सङ्क्रमित नभेटिएकोमा असार २२ गतेसम्म दुई हजार ५०० को परीक्षण गर्दा १६ जना सङ्क्रमित भेटिएको तथ्याङ्क छ ।

भेटिएका सबै सङ्क्रमित भारतीय भएकाले नेपाली सुरक्षाकर्मीको सहयोगमा भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको डा.महतोले जानकारी दिए । सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि वीरगञ्जको नारायणी अस्पतालमा पछिल्लो तीन महिनादेखि पीसीआर परीक्षण बन्द गरिएको छ ।

मुलुकका विभिन्न जिल्ला र सीमावर्ती भारतीय क्षेत्रमा समेत पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि पर्सा जिल्लामा नागरिकले स्वास्थ्य मापदण्डको पालनामा लापर्वाही गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?