काठमाडौँ, १९ जेष्ठ । नेपाल विद्युत प्राधिकरणले बढी भएको बिजुली भारतलाई बेच्न थालेको छ।
बुधबार राति १२ बजेदेखि भारतीय बजारमा बिजुली पठाउन थालिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए।
‘२४ मेगावाटको त्रिशुली र १५ मेगावाटको देवीघाट विद्युत गृहको बिजुली हिजोदेखि भारतीय बजारमा पठाउन थालेका छौं,’ प्रवक्ता भट्टराईले भने,‘एक-दुई दिनमा अरू आयोजनाको बिजुली पनि पठाउँछौं।’
बर्खायाम सुरू भएसँगै नेपालका नदीहरूमा पानीको सतह बढेर बिजुली उत्पादन बढेपछि मागभन्दा उत्पादन धेरै भएको हो।
भारतले गत चैतमा नेपालबाट थप ३२६ मेगावाट बिजुली बेच्न नेपाललाई स्वीकृति दिएको थियो। भारतले एसियाली विकास बैंक, जर्मनीको पनि लगानी र निजी क्षेत्रबाट बनेका आयोजनाको बिजुली लैजान सहमति जनाएको हो।
प्राधिकरणका प्रवक्ता भट्टराईले अहिले औसतमा नेपालले प्रतियुनिट ६ रुपैयाँ ३० पैसा भारूमा बिजुली बेचेको बताए।




