भैरहवा, फागुन ८ । सरकारले आगामी बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी गरेपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । लुम्बिनीलाई प्राथमिकतामा राखेर बौद्ध सम्मेलन गर्नुले यहाँको पर्यटन व्यवसायमा मात्र नभई बृहत्तर लुम्बिनी विकासको योजना अघि बढाउन पनि सहयोग पुग्ने व्यवसायीको भनाइ छ ।
“बौद्ध सम्मेलनले अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीको प्रचार हुनुका साथै पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्छ, त्यसैले पनि सरकारले गरेको निर्णय स्वागतयोग्य छ”– लुम्बिनी होटल एसोसिएसनका महासचिव लीलामणि शर्माले भन्नुभयो ।
सरकारले बुद्ध जयन्ती अर्थात् वैशाख शुक्ल पूर्णिमाको अवसर पारेर हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्दै आएको छ । यस पटकको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव वानकी मुनसहित २१ वटा राष्ट्रका प्रतिनिधिलाई बोलाउने सरकारको तयारी छ । लुम्बिनीमा तेस्रोपटक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुन लागेको हो । लुम्बिनीलाई सरकारले प्राथमिकतामा राखेको भन्दै लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले बौद्ध सम्मेलन सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने पनि बताएका छन् ।
सिद्धार्थ होटेल एसोसिएसनका उपाध्यक्ष मेघनाथ आचार्यले बौद्ध सम्मेलनलाई स्थानीय स्तरबाट सहयोग गरिने बताउनुभयो । “बौद्ध सम्मेलनमा आउने अन्तर्राष्ट्रिय पाहुनाका कारण लुम्बिनीको विश्वव्यापी प्रचार हुन्छ, यसले गर्दा लुम्बिनीमा पर्यटक बढ्छन् र पर्यटन व्यवसाय फस्टाउँछ, त्यसैले बौद्ध सम्मेलन सफल पार्नुपर्छ”–उहाँले भन्नुभयो ।

बौद्ध सम्मेलनले लुम्बिनीको प्रचारप्रसारमा सघाउ पुगे पनि पर्यटकको बसाइ लम्ब्याउने खालका कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने व्यवसायीको भनाइ छ । गौतम बुद्ध र मायादेवीका प्राचीन, ऐतिहासिक कथा तथा बुद्धका सन्देशसमेतलाई समेटेर वृत्तचित्र तयार गरी लुम्बिनी क्षेत्रमा यसको नियमित प्रदर्शन तथा प्रचारप्रसार गर्ने हो भने पर्यटकको बसाइ अवधि लम्बिन सक्ने संस्कृतिविद् गितु गिरीले बताउनुभयो । यो खबर आजको गोरखापत्रमा छ ।




