काठमाडौँ, २५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई जुत्ता हान्छु भनेर सामाजिक सन्जालमा लेख्ने पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका-३ बस्ने ५२ वर्षीय यज्ञ बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले बताए ।
बुढाले ‘हिजो सकेनन् चितवनवासीले, मेरी छोरीले चुनाव हारे देश दुर्घटनामा जान्छ भन्ने प्रचण्ड दाङ आए जुत्ता म हान्छु अब’ भनेर सामाजिक सन्जालमा पोस्ट गरेका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालयको समन्वयमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले बुढालाई पक्रेको हो ।
चुनावी सभालाई सम्बोधन गर्न प्रचण्डको साथै प्रधानमन्त्री शेरबहादुर देउवा पनि आज दाङको घोराही र तुलसीपुर आउने कार्यक्रम छ ।
तुलसीपुरका मेयर उम्मेदवार एवम् एमाले नेता घनश्याम पाण्डेले भने पक्राउ परेका बुढालाई तत्काल रिहा गर्न आग्रह गरेका छन् ।




