तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न

`

     २०७८ चैत्र २७ गते १२:१७

काठमाडौँ, २७ चैत्र । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।  ४९ किलोमिटर दौड प्रतियोगितामा महिलातर्फ शारदा भण्डारी र पुरुषतर्फको उपाधि दुर्गाबहादुर बुढाले हात पारेका हुन् ।

बुढाले जुम्ला सदरमुकाम खलंगादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी पाँच घन्टा दुई मिनेट २० सेकेन्डमा पार गरेका छन् । उनले अहिलेसम्मका तीनवटै जुम्ला–रारा म्याराथनका स्वर्ण चुमिसकेका छन् । पुरुषतर्फ दलबहादुर कुँवरले द्वितीय भएका छन् । कुँवरले पाँचघन्टा पाँच मिनेट ४९ सेकेन्डमा दूरी पार गर्दै उक्त स्थान हासिल गरेका हुन् । वेदबहादुर सुनारले पाँच घन्टा आठ मिनेट ४७ सेकेन्डमा दूरी पार गरेर तृतीय भएको कर्णाली स्पोर्टस् क्लब जुम्लाका सहसचिव धनराज सुनारले जानकारी दिए ।

महिलातर्फ शारदा भण्डारीले ६ घन्टा ३४ मिनेट ४१ सेकेन्डमा दूरी पार गर्दै प्रथम स्थान हासिल गरेकी हुन् । यसैगरी गणना भण्डारी ६ घन्टा ५९ मिनेट ४२ सेकेन्डका साथ द्वितीय र मञ्जु रावतले सात घन्टा ३४ मिनेट ३८ सेकेन्डमा पार गरेर तृतीय भएको कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?