ग्लोबल आइएमई बैङ्कद्वारा २०७९ को क्यालेन्डर सार्वजनिक

`

     २०७८ चैत्र १३ गते ६:४०

काठमाडौँ, १३ चैत्र । ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सहित बैंक सञ्चालक तथा बैंक उच्च अधिकारीहरुले आइतबार राजधानीमा आयोजित कार्यक्रममा क्यालेण्डर सार्वजनिक गर्नुभयो । ग्लोबल आईएमई बैंकले बर्सेनि आफ्नो क्यालेण्डरमा स्थानीय कला, संस्कृतिलाई प्राथमिकता दिँदै आएको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ क्यालेण्डरमार्फत मिथिला चित्रकला प्रवर्द्धन तथा कलाकारको सम्मानमा योगदान पुग्नसक्ने बताउनुभयो । मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आईएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्नुहुँदै उहाँले आउँदा दिनमा पनि सांस्कृतिक क्षेत्रमा बैंकले सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।

करिब ३७ वर्षदेखि चित्रकलामा सक्रिय अजितकुमार साह र गीताकुमारी ठाकुरले तयार पार्नुभएको मिथिला संस्कृति झल्काउने चित्रकलालाई क्यालेण्डरमा समाविष्ट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले जानकारी दिनुभयो ।

नेपालको मौलिक मिथिला कला तराईको घरघरमा संस्कृतिका रुपमा रहे पनि मुलुकभर क्यालेण्डरमार्फत फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरुको प्रयास रहेको उहाँको भनाइ छ ।
“छरिएर रहेका मिथिला कलाकृतिलाई एकीकृत गर्ने हाम्रो प्रयास हो”, उहाँले भन्नुभयो, “यसबाट चित्रकला क्षेत्रलाई प्रवर्द्धन हुने र स्थानीय कलाकृति तथा संस्कृति संरक्षण हुने हाम्रो अपेक्षा छ ।”

कार्यक्रममा कलाकार साह र ठाकुरले आफूहरुको सृजना र संस्कृतिलाई मुलुकभर पुर्याएकोमा धन्यवात तथा कृतज्ञता व्यक्त गर्नुभयो । सो अवसरमा बैंक अध्यक्ष ढकालबाट कलाकारद्वयलाई सम्मानसमेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?