काठमाडौं, चैत १० । अब बिमा कम्पनीहरुले ठ्याक्कै १ वर्षभित्र अर्थात् आगामी २०७९ चैत मसान्तभित्र तोकिए अनुसार चुक्ता पुँजी पुर्याइसक्नुपर्नेछ । पुँजी पुर्याउन नसक्नेले मर्ज वा एक्विजिसनमा जानुपर्नेछ । अन्ततः अब बिमा समितिले बिमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने निर्णय गरेको हो। व्यवसायको आकार वृद्धि अनुसार पुँजी बढ्न नसकेको र जोखिम बढ्न सक्ने भएकाले चुक्ता पुँजी वृद्धि गरिएको बिमा समितिको भनाई छ । समितिले जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको हो । हाल जीवनको न्यूनतम पुँजी २ अर्ब र निर्जीवनको १ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था रहेको छ । यसआधारमा दोब्बरभन्दा पनि बढीले पुँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरिएको छ । अब बिमा कम्पनीहरुले ३० दिनभित्र पुँजी वृद्धिको आफ्नो योजना पनि बिमा समितिमा पेश गर्नुपर्नेछ ।
बिमा समितिले यसअघि हकप्रद जारी गर्न नदिइने भनिए पनि जारी गरेको विज्ञप्तिमा त्यस्तो केही पनि उल्लेख छैन । यसर्थ, कम्पनीहरुले हकप्रद वा बोनस जारी गरेर पनि पुँजी पुर्याउन सक्ने देखिएको छ । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिहीबार बसेको बिमा समितिको सञ्चालक समिति बैठकले चुक्ता पुँजी बढाउने निर्णय गरेको जानकारी गराउनुभयो। बिमा कम्पनीहरुले २०७९ साल चैत्र मसान्तभित्र तोकिएको पुँजी कायम गर्नुपर्ने समितिको विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त समयमा निर्धारित पुँजी पुर्याउन नसक्ने कम्पनीहरुले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुने गरी पुँजी कायम गर्नुपर्नेछ, विज्ञप्तिमा भनिएको छ ।
जीवन,निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सो अनुरुप कम्पनीहरुको जोखिम बहन क्षमता बढाउन, कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकुल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पूँजिगत आधार बलियो बनाउन, ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहूँच विस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूँजीसँग सामञ्जस्यता हुनेगरी चुक्ता पुँजी कायम गर्न पुँजी वृद्धिको निर्णय गरिएको हो । उपरोक्त अनुसारको चुक्ता पुँजी २०७९ साल चैत्र मसान्तसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पुँजी उपरोक्त समयावधिभित्र पुर्याउन नसक्ने कम्पनीहरुले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्नेछ ।
कम्पनीहरुले ३० दिनभित्र आफ्नो पुँजी योजना (क्यापिटल प्लान)सम्बन्धित बोर्डबाट निर्णय गराई समिति समक्ष पेश गर्नुपर्ने व्यवस्था समेत रहेको छ । विदेशी बीमकको रुपमा दर्ता भई संचालनमा रहेको बीमकले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम पुँजी बराबरको निर्धारित पुँजी (असाइन्ड क्यापिटल) कायम गर्ने र संयुक्त लगानीमा संचालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्ने व्यवस्था गरिएको छ ।
यसरी बिमा समितिले पुँजी वृद्धिको निर्णय गरेपछि सेयर बजारका लगानीकर्तामा पनि खुशीयाली छाएको छ । बिगतका बुलिस वर्षहरुमा पनि यही पुँजी वृद्धिकै कारण बजारले नयाँ उचाई बनाउन सकेको थियो । हाम्रो सेयर बजारले बुल टप लगाउन जहिल्यै पुँजी वृद्धिलाई खोजेको र रोजेको हुन्छ । पछिल्ला केही दिनयता बजारले माथि जाने प्रयास गरिरहेको थियो । तर अपेक्षा अनुसार वृद्धि हुन सकेको थिएन । सेयर बजारका लगानीकर्ता र विश्लेषकहरुले नेप्सेले यस्तै केही गुड न्यूज खोजिरहेको बताएका थिए । अब यस विषयले सेयर बजारमा पक्कै पनि गुड न्यूज ल्याएको छ । क्रमशः सबल वित्तीय सूचक भएका कम्पनीहरुका भाउमा सकारात्मक प्रभाव पर्ने विश्लेषण गर्न सकिन्छ । लगानीकर्ताहरुले पुँजी वृद्धिसँगै कम्पनीको मजबुत वित्तीय अवस्थालाई पनि ख्याल गर्नुपर्ने हुन्छ । यही बिमाको पुँजी वृद्धि खबरले समग्र सेयर बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गर्न सकिन्छ । किन भने पुँजी वृद्धि गर्नुपर्ने भएकाले आन्तरिक बजार पुँजी परिचालन हुनेछ । जसले तरलताको अवस्थामा पनि सुधार ल्याउनेछ ।




