काठमाडौं, ४ फागुन । चीनको हुबेई प्रान्तबाट १७५ जना नेपाली नागरिकलाई नेपाल फर्काइएको छ । नेपाल फर्काइएकाे उनीहरूलाई भक्तपुर खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा पुर्याइएको छ।

कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका नेपालीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्धार गरेपछि क्वारेन्टाइनमा पुर्याइएको हाे। उद्धार गरिएकोहरु १७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई रहेका छन् । उनीहरु आइतबार बिहान काठमाडौंमा आइपुगेका हुन् ।
भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनमा राखिने उनीहरूलाई क्वारेन्टाइनमा उपयोग गरिने तालिम केन्द्रका भवन, कोठा, प्रयोग गरिएका सामानको उचित सङ्क्रमण रोकथाम व्यवस्था गरिएको बताइएकाे छ ।
क्वारेन्टाइनमा रहेका विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने र कसैलाई रोग लागेको शङ्का हुनासाथ उपचारका लागि अस्पतालमा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको जनाइएकाे छ। क्वारेनटाइनमा दुईवटा भवनमा पुरुष, एक वटा रातो भवनमा र महिला निर्देशकको क्वाटरमा एक जना डाक्टर र एक जना नर्सलाई राख्ने गरी व्यवस्था गरिएको छ ।
प्रत्येक दिन क्वारेन्टाइनमा बस्नेको ज्वरो नाप गरिने र ज्वरो एवं रुघा लागेमा तत्कालै एम्बुलेन्समा हालेर टेकु अस्पताल लैजाने व्यवस्था गरिएको बताइएको छ। कोरोनाको उच्च संक्रमण रहेको ठाउँबाट उद्दार गरेर ल्याएपछि कवारेन्टाइनमा राख्न लागिएका नेपाली विद्यार्थीलाई १४ दिनसम्म अभिभावकले भेट्न नपाउने भएको छ ।

चीनमा रहेका नेपाली नागरिकलाई लिनका लागि नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी विमान नेपाली समय राति करिब ८ बजे वुहानको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। कोरोना भाइरस रोग २०१९ (कोभिड १९) को संक्रमण चीनभर र अन्य मुलुकहरुमा फैलिदै गएपछि हुबेईमा रहेका १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए।

१८५ जना मध्ये चार जनाले उतै बस्ने निर्णय गरेको जनाइएको छ । अरू छ जना भने चीनमानै रहेका छन् । छ जना मध्य चार जनामा ज्वरो देखिएको र २ जना उनीहरुको परिवारको सदस्य भएकोले नेपाल आउन नपाएको बताइएको छ।
घर फर्कने टोलीमा १३४ पुरुष र ४१ महिला छन्।

नेपाल आइसकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उनीहरूको स्वास्थ्य जाँच गरिनेछ । विमानस्थलमा परीक्षण गर्दा ज्वरो र खोकी लागेका विद्यार्थीलाई सीधै टेकु अस्पताल पठाउने तयारी सरकारले गरेको छ ।
अहिले यो भाइरसको संक्रमण २९ देशमा देखिएको छ। कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा एक हजार ५२७ जनाको ज्यान गइसकेको छ भने ६७ हजार १९२ जना यसबाट संक्रमित भएको पुष्टि भएको छ। ८ हजार ५९४ जना भने संक्रमणको उपचारपछि निको भएका छन्।




