बैङ्कको ब्याजदर घटाउन मोरङ व्यापार सङ्घको माग

`

     २०७८ चैत्र ०१ गते ७:००

काठमाडौँ, १ चैत्र । मोरङ व्यापार संघले बैंकको चर्को ब्याजदर घटाउन माग गरेको छ।

सोमबार संघद्वारा विराटनगरमा आयोजित एक पत्रकार सम्मेलनमा संघका अध्यक्ष नविन रिजालले संस्थागत निक्षपको ब्याजदर ६ प्रतिशत कायम गर्न माग गरे।

उनले संस्थागत निक्षेपको ब्याजदर ६ प्रतिशत कायम गरे ब्याजदर नियन्त्रणमा सहयोग पुग्ने बताए । उनका अनुसार नेपालमा संस्थागत निक्षेप १८ अर्ब रहेको छ। जुन निक्षेपमा हाल ११ प्रतिशत ब्याज दिइएको छ। यो अनुत्पादक क्षेत्रमा गरिएको लगानी भएकाले यसबाट जिडिपीमा पनि वृद्धि हुँदैन।

संघका निवर्तमान अध्यक्ष प्रकाश मुण्दडाले सरकारले संस्थागत निक्षेपको व्यादर ११-१२ प्रतिशत पुर्‍याएर जिडिपीमा कसरी वृद्धि हुन्छ भन्ने सरकारले सम्झाउनुपर्ने बताए।

मोरङ व्यापार संघका पूर्व अध्यक्ष महेश जाजुले ब्याजदर वृद्धि अर्थ मन्त्रालय र राष्ट बैंकबीचको असमझदारी हो की भन्ने आशंका लागेको बताए।

पत्रकार सम्मेलन पछि मोरङ व्यापार संघमा आबद्ध उद्योगी व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर मोरङका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारलाई ज्ञापनपत्र समेत बुझाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?