काठमाडौँ, ३० फाल्गुन । यस साता बैंकिङ च्यानलमा थप २ अर्ब रुपैयाँ तरलता थपिएको छ ।
गत फागुन १३ गतेदेखि २० गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप संकलन ११ अर्बले बढेकोमा पछिल्लो हप्ता अर्थात् फागुन २० गतेदेखि २७ गतेसम्म थप २ अर्बले बढेको हो ।
नेपाल बैंकर्स संघका अनुसार यो साता वाणिज्य बैंकहरू निक्षेप २ अर्बले बढेर कुल ४३ खर्ब २६ अर्ब पुगेको छ । अघिल्लो हप्ता यस्तो निक्षेप ११ अर्बले वृद्धि गर्दै २७ वटा वाणिज्य बैंकहरुले कुल ४३ खर्ब २४ अर्ब संकलन गर्न सफल भएका थिए ।
तर, यता कर्जा लगानी तर्फ भने बैंकहरुले अघिल्लो हप्ताको भन्दा पनि घटाएको संघको रिपोर्टले देखाएको छ । फागुन १३ गतेदेखि २० गतेसम्म ५ अर्बले कर्जा लगानी बढाएका बैंकहरुले यस हप्ता एक अर्बले निक्षेप घटाउँदै कुल ४१ खर्ब ६९ अर्ब रुपैयाँ लगानी गरेका छन् । अघिल्लो हप्ता २७ वटा वाणिज्य बैंकहरुले कुल ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।




