नेपालको अर्थतन्त्र डामाडोल हुँदै, व्यापार घाटा १० खर्ब १५ अर्ब

`

     २०७८ फाल्गुन २८ गते २:४८

काठमाडौँ, २८ फाल्गुन । नेपालको अर्थतन्त्रका सूचकहरुमा सुधारको हुनुको विपरीत हरेका महिना ओरालो लागी रहेको छ । आईएमएफले पछिल्लो समय १३ अर्ब रुपैयाँ ऋण सुविधा प्रदान गरेकाले माघमा विदेशी मुद्रा सञ्चितिमा थोरै सुधार देखिए पनि अरू सबैजसो सूचकमा ओरालो उस्तै छ ।

विदेशी मुद्रा सञ्चिति निरन्तर घटिरहँदा आवश्यक सामग्रीको आयातमा दबाब सिर्जना भएको छ, जसले गर्दा राष्ट्र बैंकले पछिल्लो समय विभिन्न सामग्रीहरूको आयातमा कडाइ गरिरहेको छ ।

माघ मसान्तसम्म ११ खर्ब ७३ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति रहेको राष्ट्र बैंकले जनाएको छ । असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर सञ्चिति थियो । असार मसान्तमा सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेकामा माघ मसान्तसम्म ९ अर्ब ७५ करोड डलर कायम भएको हो । आर्थिक वर्ष २०७८/७९ को ७ महिनाको आयातलाई आधार मान्दा हाल रहेको सञ्चितिले ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ ।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म मुलुकको भुक्तानी अवस्था २ खर्ब ४७ अर्ब ३ करोड घाटामा छ । गत वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा थियो । चालु खाता घाटा ४ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ ।

रेमिट्यान्सको गिरावट दर यथावत् छ । साउनदेखि माघ मसान्तसम्म ५ खर्ब ४० अर्ब १२ करोड रेमिट्यान्स भित्रिएको छ । गत वर्ष सो अवधिमा ५ खर्ब ६७ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

सात महिनामा कुल ११ खर्ब ४७ अर्ब रुपैयाँको वस्तु आयात भएकामा १ खर्ब ३१ अर्ब रुपैयाँको निर्यात भएको छ । यस आर्थिक वर्ष माघसम्म मुलुकको व्यापार घाटा १० खर्ब १५ अर्ब छ ।

आयातमा पेट्रोलियम पदार्थको हिस्सा सबैभन्दा ठूलो १३.६ प्रतिशत छ । ७ महिनामा कुल १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । एक वर्षको समीक्षा अवधिमा पेट्रोलियम पदार्थको आयात रकमका आधारमा ९३.६ प्रतिशत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?