काठमाडौं,फाल्गुन २५ । विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धिपछि नेपालमा पनि आयल निगमले घाटामा रहेको बताउँदै महिनाकै तीनपटकसम्म पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर नेपालमा पनि देखिएको छ । डलरको मूल्य अकासिनु अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ देखि ३ डलरले वृद्धि भइरहेका बेला रसिया र युक्रेनबीचको युद्धले मूल्य ह्वात्तै बढेर बाहिर गइसकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिका कारण निगमको मासिक घाटा बढेको निगमका प्रवक्ताले जानकारी गराएको छ। यस्तो अवस्था लामो समय रहिरह्यो भने निगमको घाटा १० अर्ब माथि जाने देखिएको निगमनै स्वीकार्छ । यस्तै अवस्था आइरह्यो भने अब आउने नयाँ मूल्य सुचिमै प्रतिलिटर डिजेल तथा पेट्रोलको मूल्य १५ देखि २० रुपैयाँसम्म बढेर आउने निगमका प्रवक्ता विनितमणि उपाध्याय बताउनुहुन्छ । पछिल्लो समय अर्थात मार्च ३ मा गरिएको मूल्य समायोजनपछि हाल १५ दिनमा २ अर्ब ५० करोड भन्दा बढी घाटा हुने देखिएको आयल निगमको भनाइ छ । तर, यही अवस्था रहिरहे ५ अर्ब माथि घाटा हुने देखिएको छ ।
पेट्रोल तथा डिजेलमा ५–५ रुपैयाँ मूल्य समायोजन गर्दा पेट्रोलमा १६ रुपैयाँ २८ पैसा र डिजेलमा करिब १२ रुपैयाँ र प्रतिसिलिण्डर एलपीजीमा ६ सय ६५ रुपैयाँ भन्दा बढी घाटा रहेको निगम बताउँछ । भारतबाट आएअनुसारको मूल्य नबढाउँदा निगमलाई पेट्रोलियम पदार्थ आपूर्ति सुचारू गर्नसमेत चुनौति देखिए प्रवक्ता उपाध्यायको भनाइ छ । नेपालले इन्धन भारतबाट मात्र खरिद गर्ने भए तापनि भारतले अन्य राष्ट्रबाट आपूर्ति गर्ने हुँदा यसको असर विश्व बजारमै पर्ने भएको छ ।
युक्रेन र रुस युद्धका कारण अहिले रुसको केहि बैंकलाई अन्तर्राष्ट्रिय बैकिङ कारोबारको स्वीफ्ट प्रणाली रोकिएको छ भने माष्टर, भिजा सेवा पनि रोकिएको अवस्था छ । आइफोन, माइक्रोसफ्ट जस्ता संयुक्त राज्य अमेरिका र युरोपियनका बहुराष्ट्रिय कम्पनीले रुसमा आफ्नो शाखा कार्यालय बन्द गरेका छन् । नेटो समर्थित देशहरू जैविक इन्धनमा पनि प्रतिबन्ध लगाउने तयारीमा छन् । र यसरी प्रतिबन्ध लगाएमा रुसले निश्चित रूपमा युरोपलाई ग्यास दिन बन्द गर्ने अनुमान छ । जसले गर्दा पुरै युरोपमा महंगी बढ्नेछ । यदि रुसको जैविक इन्धनमा प्रतिबन्ध लगाएमा कच्चा जैविक इन्धन अर्थात पेट्रोलको मूल्य २ सय डलर प्रतिब्यारेल(१ ब्यारेल = लगभग १५९ लिटर) भन्दा माथि पुग्ने अनुमान लगाएका छन् । यदि त्यसो भयो भने नेपालमा प्रति लिटर २५० भन्दा माथि पुग्ने निश्चित छ ।




