भक्तपुर, ३ फागुन । चाँगुनारायण नगरपालिका वडा न। ६ नगरकोट वडा कार्यालय नजिक रहेको खानेपानी कार्यालयमा आज प्रहरी र स्थानीयबिच झडप भएको छ ।
चीनको वुहानमा रहेका नेपालीको उद्धार गरेर सरकार ल्याउन लागेको र उनीहरुलाई लिन जाने नेपाल वायुसेवा निगमको विमानका चालक, सहचालक र परिचारिकालाई १४ दिनसम्म नगरकोटको खानेपानीमा बनाएको क्वारेन्टाइन राख्न लागेको बिरोधमा स्थानीयबासीले बिरोध गर्दै आज गरेको आन्दोलनमा प्रहरीसंग झडप भएको हो ।
खानेपानीको कार्यालयमा बनाएको क्वारेन्टाइनमा राख्न लागेको भन्दै त्यसको बिरोधमा नाराजुलुस गरि खानेपानी कार्यालयमा अवरोध गर्दै सडक बन्द गराई टायर बालेर विरोध गरेपछि झडप भएको वडा नं। ६ का वडा अध्यक्ष सन्तबहादुर तामाङ्गले बताउनुभयो ।
प्रहरीले उनीहरुलाई रोके पछि आक्रोसित भएका स्थानीयले सडक बन्द गराई बिरोध गरेपछि प्रहरीले रोक्न बल प्रयोग गर्दा झडप भएको र ढुङ्गा हानाहान भएको उहाले बताउनुभयो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी नेतृत्वको टोली नगरकोट पुग्दा बिरोध भईरहेको थियो । स्थानीयले एक सातादेखि बिरोध गर्दै आएको र आज पनि दिनभरी नै बिरोध गरेको नगरकोटका विष्णु तामाङ्गले बताउनु भयो । यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।




