काठमाडौं,फागुन १७ । सेना दिवसको अवसरमा मंगलबार नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना सहित विभिन्न कार्यक्रम गरी भव्य रुपमा सेना दिवस मनाएको छ। सेना दिवसको भव्य समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भइन्।
राष्ट्रपति भण्डारीले सैनिक स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा प्रदान गरिएको सलामी ग्रहण गरिन्। समारोहमा राष्ट्रपति भण्डारीले नेपाली सेना, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित वार्षिक पत्रिकाका ‘सिपाही–२०७८’ र ‘ग्लोरियस पास्ट अफ नेपाली आर्मी’ पुस्तक विमोचनका गरिन्। नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आईरहेको छ।
समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७८’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो । नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन भयो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम–मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति थियो।




