भाइरल मन्त्री आले झञ्झन भाइरलको उचाइमा

`

     २०७८ फाल्गुन ०३ गते ३:२४

काठमाडौं, फागुन ३ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अछाम घर भई भारतको मुम्बई बस्ने जगत ओलीलाई गरेको अश्लील गाली सामाजिक सन्जालमा भाइरल भइरहेको छ । आफूविरुद्ध फेसबुकमा जथाभावी किन लेखेको भन्दै मन्त्री आले ओलीविरुद्ध खनिएका छन् । मन्त्री आलेले उनी बसेको मुम्बईको ठेगाना माग्दै ‘त्यहींबाट उठाइदिने’ र ‘हातखुट्टा काटिदिने’ धम्कीसमेत दिएको सुनिन्छ । यो अडियो अहिले सामाजिक सन्जालमा भाइरल भएको छ ।

मन्त्री प्रेम आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार एमाले सांसदहरुले फ्लोर क्रस गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि आलेविरुद्ध ओलीले फेसबुकमा ‘जथाभावी’ लेखेका थिए । त्यसपछि उनैले आलेलाई म्यासेन्जरमा फोन पनि गरेका थिए । त्यही क्रममा भएको सम्वाद अहिले सार्वजनिक गरिएको आलेका प्रमुख स्वकीय सचिव रेग्मीको भनाइ छ ।

यसैबीच मन्त्री आलेविरुद्ध तथ्यहीन आरोप लगाएर बदनाम गराउन खोजिएको भन्दै मन्त्रीको सचिवालयले खेद प्रकट गरेको छ । मन्त्री आलेले जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका केही व्यक्तिले षडयन्त्र गरेको प्रमुख स्वकीय सचिव रेग्मीको भनाइ छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनु भन्दा अघि भएका अनौपचारिक एवं व्यक्तिगत विषयलाई अनधिकृतरूपमा बाहिर सार्वजनिक गरी मन्त्रीको छविमा आँच आउने काम गरिएको भन्दै मन्त्री प्रेम आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले दोषीमाथि कारबाही गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?