नेपाल २ खर्ब ४१ अर्ब २३ करोड घाटामा

`

     २०७८ माघ २६ गते ३:१०

काठमाडौँ, माघ २६ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्म मुलुकको भुक्तानी सन्तुलन ठूलो रकममा घाटामा गएको छ । मुलुकको भुक्तानी अवस्था (शोधनान्तर स्थिति) २ खर्ब ४१ अर्ब २३ करोड घाटामा गएको छ । यसको अर्थ मुलुकमा भित्रिने रकमभन्दा मुलुकबाट बाहिरिने रकम २ खर्ब ४१ अर्ब बढी हुनु हो ।

राष्ट्र बैंकको अनुसार ६ महिनामा १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँको वस्तु विदेश निर्यात हुँदा झण्डै १० खर्ब (९ खर्ब ९९ अर्ब ३४ करोड)को वस्तु आयात भएको छ । जसले गर्दा छ महिनामै व्यापार घाटा ८ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ । मुलुकको बढ्दो आयात, घटेको रेमिट्यान्स लगायतले भुक्तानी सन्तुलनलाई असर पार्दछ ।

चालु आवको ६ महिनामा ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । समीक्षा अवधिमा खुद ट्रान्सफर ४.९ प्रतिशतले कमी आई ५ खर्ब २३ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.९ प्रतिशतले बढेको थियो । व्यापार घाटा बढिरहँदा रेमिट्यान्स आप्रवाह भने घटेको छ । गत वर्षको ६ महिनाको अवधिको तुलनामा यो वर्षको सोही अवधिमा ५.५ प्रतिशतले रेमिट्यान्स कमी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?