काठमाडौँ, १९ माघ । गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ ।
पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ गरी पाँच जिल्लामा उत्पादित स्थानीय मदिरालाई ब्राण्डिङ गर्नेगरी अध्ययन सुरु गरिएको गण्डकी विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले जानकारी दिए ।
विदेशी मदिरा आयातमा वृद्धि भइरहेको अवस्थामा यसलाई प्रतिस्थापन गरी स्वरोजगार सिर्जना गर्न र प्रदेशलाई आर्थिक समृद्धितर्फ लैजान ब्राण्डिङको अवधारणा अघि सारिएको हो ।
गण्डकी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कार्ययोजना अनुरुप कोदोको रक्सीलाई ब्राण्डिङ गर्न थालिएको रजिष्ट्रार तिमिल्सिनाले बताए । गण्डकी प्रदेशमा कोदोको खेती र उत्पादन बढी हुने र घरेलु मदिरासमेत बढी मात्रामा उत्पादन हँदै आएको छ ।
यसैगरी विश्वविद्यालयले सुन्तलामा कीरा लाग्ने विषयको समेत अध्ययन सुरु गरेको छ । विगत केही वर्षदेखि सुन्तलामा कीरा लाग्दा पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जालगायतका जिल्लामा सुन्तला उत्पादनमा ह्रास आएको भन्दै यसको अध्ययन थालिएको उहाँले बताउनुभयो ।
विश्वविद्यालय सबैको पहुँचमा हुनुपर्छ भन्ने मान्यतलाई स्थापित गर्दै कृषि, पत्रकारिता, उद्यमशीलतालाई समेत अघि बढाइने बताइएको छ । विश्वविद्यलयका प्रोफेसर सरोज गिरीले ‘स्नातक तहमा सूचना प्रविधि’ र मधुसुदन सुवेदीले ‘खेलकुद व्यवस्थापन’का विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।




