काठमाडौँ, माघ १० । सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनबारे पार्टीभित्र कुनै छलफल नगरेको र पार्टीमा एकलौटी शासन थालेको भन्दै कोइराला समूहका नेताहरूले असन्तुष्टि जनाएका छन् ।कांग्रेसको कोइराला समूहका नेताहरूले पाँचदलीय गठबन्धन पार्टीका लागि घातक बन्दै गएको निष्कर्ष समेत निकालेको छ ।
नेता शेखर कोइरालाले सोमबार आफूनिकट नेताहरूसँग भर्चुअल संवाद गरेका थिए । छलफलमा महामन्त्री गगन थापा, नेताहरू चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसी लगायत सहभागी थिए । छलफलले सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्न नहुने निष्कर्ष निकालेका थिए ।
‘हाम्रो पार्टीको सभापति प्रधानमन्त्री हुनुहुन्छ तर सरकारले गर्ने काम कारबाहीबारे पार्टीमा छलफल भइरहेको छैन । उहाँ केही सीमित मानिसहरुको साथ लिएर पार्टीभित्र सामान्य छलफल पनि नगरी स्थानीय तहको चुनाव र राष्ट्रिय मुद्दाहरूको विषयमा गठबन्धनभित्रै रुमल्लिएको देखिन्छ,’ छलफलपछि एक नेताले भने, ‘हामीले यसबारे उहाँलाई ध्यानाकर्षण गराउने निर्णय गरेका छौँ ।’
छलफलमा नेता कोइरालाले राष्ट्रिय निर्वाचनहरू सम्मुखमा भए पनि त्यसबारे पार्टीको केन्द्रीय समितिमा छलफल नै नगरी प्रधानमन्त्रीले निर्णय प्रक्रिया अघि बढाउनु विडम्बनापूर्ण भएको बताएका थिए । उनले पार्टीभित्र र बाहिर गर्ने क्रियाकलापमा पार्टीकोे केन्द्रीय समितिमा छलफल हुनुपर्ने बताएका थिए ।
‘पार्टीभित्र छलफल नै नगरी सभापतिले एकलौटी ढंगले गठबन्धनका नेताहरू भेटेर धारणा तय गर्ने र पार्टीको आधिकारिक धारणा नै त्यहि हो भन्ने अब हामीलाई स्वीकार्य छैन,’ ती नेताले छलफलको निर्णय सुनाउँदै भने ।
कोइराला समूहले तीनै तहको निर्वाचनमा पार्टीले गठबन्धनको भारी बोक्न नहुने निर्णयसमेत गरेको छ । ‘वैशाखमा स्थानीय तहको चुनाव हुनुपर्ने हाम्रो निष्कर्ष रह्यो, साथै तीन तहकै चुनाव कांग्रेसले एक्लै लड्नुपर्छ,’ ती नेताले भने, ‘त्यसका लागि पार्टीभित्र एकता कायम गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’
सभापतिले एकलौटी निर्णय गर्ने अभ्यास राम्रो होइन, पार्टीभित्र महामन्त्रीसँग समेत छलफल नगरी सभापति अघि बढ्न खोज्नुभएको छ, यो राम्रो होइन,’ ती नेताले भने ।
बैठकमा सभापति देउवाले ४० प्रतिशतभन्दा बढी मतको बेवास्ता गरेको विश्लेषण गरिएको पनि उनले बताए ।




