काठमाडौँ, २१ पौष । नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरुद्धमा आन्दोलनमा उत्रेका पीडित विद्यार्थी र विद्यार्थी संगठनले कलेजलाई मंगलबार २४ घण्टे अल्टिमेटम दिएका छन् ।
चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियान र अनेरास्ववियु मोरङले संयुक्त रूपमा विद्यार्थीलाई कुनै किसिमको अतिरिक्त शुल्क नलिई निर्बाध पठनपाठनको व्यवस्था २४ घण्टाभित्र नगरिए कलेजमा तालाबन्दी गर्ने चेतावनी दिएका हुन् ।
विद्यार्थी संगठनले प्लेकार्डसहित प्रदर्शन गरी कलेजका प्रिन्सिपल डा. रामहरि घिमिरेलाई ज्ञापनपत्र बुझाई २४ घण्टे अल्टिमेटम दिए ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङलाई मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको र अतिरिक्त शुल्कको बहानामा विद्यार्थीको पठनपाठन रोकिएको भए कानुनी कारबाही गर्न पत्राचार गरेको छ ।
अनेरास्ववियु मोरङका नविन पहाडीले कलेज प्रशासनले परीक्षामा आन्तरिक मूल्यांकनको अंक नदिई अनुत्तीर्ण गराउने भएकाले कलेजविरुद्ध उजुरी गर्नु विद्यार्थी र अभिभावकका लागि चुनौतीपूर्ण रहेको सुनाए ।
कलेजले आयोगले तोके विपरीत पठनपाठन सुरु नगरी ४ लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक र विद्यार्थीले मुख्यमन्त्री, मन्त्रीदेखि जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएर न्यायका लागि अपिल गरे । तर हालसम्म कतैबाट सुनुवाइ भएको छैन ।



