काठमाडौँ, २० पौष । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीबाट गुणस्तरीय धान नआएको भन्दै धान खरिद कार्य रोकेको छ ।
कम्पनीकी सुदूरपश्चिम प्रदेश प्रमुख इन्जिला बस्नेतको अनुसार पानीमा भिजेको न्यून गुणस्तरको धान नकिन्नु भन्ने निर्देशन आएकाले खरिद कार्य रोकेको जनाएको छ ।
कात्तिक पहिलो साताको बेमौसमी वर्षाका कारण जिल्लाका अधिकांश किसानको धान भिजेको थियो । कम्पनीले सरकारले निर्धारण गरेको मूल्यमा धान खरिदका लागि पानीले नभिजेको, माटो, परालको टुक्रा र पोपटा नमिसिएको सफा धान हुनुपर्ने मापदण्ड बनाएको थियो ।
केन्द्रमा प्राविधिकले गुणस्तर जाँच गरेपछि मात्र उपयुक्त देखिए खरिद गर्न सक्ने कम्पनीले जनाएको थियो । कम्पनीले धान किन्न रोकेपछि आफूहरू मर्कामा परेको किसानहारु बताउछन ।
गत भदौ २९ मा बसेको मन्त्रिपरिषद् बैठकले मोटा धानको मूल्य २ हजार ७ सय ५२ र मध्यमको २ हजार ९ सय २ रुपैयाँ प्रतिक्विन्टल निर्धारण गरेको थियो । गत वर्ष यो आँकडा क्रमशः २ हजार ७ सय ३५ र २ हजार ८ सय ८५ रुपैयाँ थियो ।



