काठमाडौँ, मंसिर २० । बेमौसमी वर्षाबाट पीडित किसानलाई राहत वितरणमा सहजीकरण गरिदिन सरकारले सबै गाउँपालिकारनगपालिकालाई पत्राचार गरेको छ ।
धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने मापदण्ड २०७८ स्वीकृत भइ कार्यन्वयनमा रहेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ स्थानीय निकायलाई पत्राचार गरेको हो ।
‘मापदण्डको कार्यान्वयन तथा सोका लागि आवश्यक सहयोग, समन्वय र सहजीकरण गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ मन्त्रालयले मंसिर १७ गते सबै गाउँपालिकारनगरपालिकालाई पठाएको पत्रमा उल्लेख छ ।
कात्तिक ११ मा बसेको मन्त्रिपरिषद् बैठकले बेमौसमी वर्षाबाट पीडित किसानलाई पूर्ण र आंशिक क्षतिका आधारमा राहत दिने निर्णय गरेको थियो । मापदण्डमा भने बाढी, पहिरो र डुबानबाट धानबालीमा क्षति बेहोरेका किसानले ५५ हजार रुपैयाँसम्म मात्रै राहत पाउने उल्लेख छ ।




