काठमाडौँ, २८ माघ । देशकै ठूलो तरकारी बजार कालीमाटीमा भित्रिएको हरियो तरकारीमा यस वर्ष विषादीको मात्रा बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार परिसरमा स्थापना गरिएको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण एकाइले गरेको परीक्षण प्रतिवेदनमा विषादीको प्रयोग बढेको उल्लेख छ ।
आर्थिक वर्ष २०७४/०७५ / २०७५/०७६ को तुलनामा चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो सात महिनामा कालीमाटी बजारमा भित्रिएको तरकारीको नमुना परीक्षण गर्दा विषादीको प्रयोग बढेको पाइएको हो ।
सो एकाइका अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा एक हजार ४०२ वटा नमुना परीक्षण गरिएकोमा १२ वटा नमुनामा खानै नहुने विषादीको मात्रा भेटियो भने तीनवटा आठरदस दिन पर्खेर खान मिल्ने पाइयो । सो एकाइका अनुसार आव २०७५/०७६ मा तीन हजार १२४ वटा नमुना परीक्षण गरेकोमा दुईवटा खाना नहुने र दुईवटा केही दिन पर्खेर खानुपर्ने भेटिएका थिए भने आव २०७४/०७५ मा एक हजार ८५० वटा नमुना परीक्षण गरेकोमा तीनवटामा खान नहुने र एउटा केही दिन पर्खेर खानुपर्ने भेटिएको थियो ।

यस्तै आव २०७३/७४ मा एक हजार ९३० वटा नमुना परीक्षण गर्दा २२ वटा खान नहुने र पाँचवटा केही दिन पर्खेर खानुपर्ने पाइएका थिए भने आव २०७२/०७३ एक हजार ९३६ वटा नमुनामा १० वटा खाना नहुने र आठवटा केही दिन पर्खेर खानुपर्ने भेटिएका थिए । त्यसैगरी, आव २०७१/०७२ मा एक हजार ५७० वटा नमुनामा चारवटा खान नहुने र १५ वटा केही दिन पर्खेर खानपर्ने भेटिएका थिए । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।




