नवलपरासी, २८ माघ । नवलपरासीको सुस्ता गाँउपालिका ५स्थित नारायणीपारिको सुस्तामा टिनले छाएका वा पक्की घर बिरलै देखिन्छ। यहाँका सबैजसो घर खर र झिँगटीले छाएका छन्। माटो र बाँसले बारेर बनाइएका तिनै बुकुरा घर बर्षामा डुवानमा पर्छन्।
बर्षाको पानी र पुष माघको शिरेटो नछेक्ने झुप्प्रामा सर्प किराको जोखिम त्यतिकै हुन्छ। सुरक्षित घरबास नहुँदा बालबालिका तथा बृद्धबुद्धाहरुलाइ रुखाखोकी ज्वरो जस्ता स्वास्थ्य समस्याले सताउने गरेको स्थानीय बताउछन्। सुस्ताका यीनै समस्याको सम्बोधन गर्दै नमुना बस्तीको रुपमा विकास गर्न प्रदेश सरकारले यो वर्ष जनता आवास कार्यक्रम लागु गरेको छ। त्यसका लागि ५ करोड २५ लाख बजेट छुट्याइएको छ। जसबाट सुस्तामा टिनले छाएका पक्की घर निर्माण गर्ने योजना प्रदेश सरकारको छ।
३ हजार १ सय ३३ जनसंख्या रहेको सुस्तामा २ सय ७२ घरधुरी छन्। ती मध्ये जम्मा १५ घर पक्की छन्। प्रदेश सरकारको योजना अनुरुप पहिलो चरणमा ६९ वटा जस्तापाताले छाएका पक्की घर बन्नेछन्। त्यसका लागि प्रति घर ३ लाख ५० हजारका दरले अनुदान उपलब्ध गराइने छ।यो बजेटबाट स्थानीयले जस्ताले छाएको दुइ कोठे पक्की घर र सौचालय निर्माण गर्नु पर्नेछ।

घरको नापनक्साका लागि प्रदेश सरकारले नै प्राविधिक सहयोग उपलब्ध गराएको प्रदेशको शहरी विकास तथा भवन कार्यालय रुपन्देहीका प्रमुख गोबिन्द गौतमले बताए। यो खबर नागरिक दैनिकमा छ ।




