काठमाडौँ, मंसिर १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत ठुलो समस्यामा परेको बताएका छन् ।
शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतमा देखा परेको समस्या समाधानको उपाय पनि नदेखिएको बताए ।
‘अहिले सर्वोच्च अदालत, नेपाल बार एशोसिएसन, सर्वोच्च बार आदिमा देख्न सक्छौं कस्तो छ स्थिति भनेर । एउटा लफडाको स्थिति सिर्जना गरिएको छ’ ओलीले भने, ‘न अगाडि न पछाडि हट्न सक्ने न वास्तविक सुधारको नीति लिन सक्ने ।’
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाको माग गर्दै नेपाल बार एशोसिएसनको अगुवाइमा सर्वोच्च अदालतमा विगत डेढ महिनादेखि आन्दोलन भइरहेको छ ।
‘वास्तविक सुधारका लागि कदम चाल्न सक्ने पनि होइन, नीति लिन सक्ने पनि होइन अगाडि बढ्न सक्ने पनि होइन । पछाडि हट्न सक्ने पनि होइन । अनि यथार्थ स्थिति मञ्जुर पनि नहुने, अगाडितिर बढ्न पनि नसक्ने । त्यसप्रकारको स्थिति देखिन्छ’ ओलीले भने ।




