काठमाडौँ, १५ साउन । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद मिलाउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल हुने भएको छ।
बिहीबार बसेको पदाधिकारी बैठकले क्रियाशीलबारे देखिएका विवाद नेतृत्वबाट हल गर्ने निर्णय गरेको थियो। जसअनुसार शीर्ष नेताले ५ दिनभित्र क्रियाशीलमा देखिएका विवाद हल गर्न समय लिएका थिए।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार बिहान ११ बजे सभापति देउवाको निजी निवास बूढानिलकण्ठमा क्रियाशील सदस्यताबारे देखिएका विवाद समाधान गर्न बैठक राखिएको जानकारी दिए।
कांग्रेसमा बारा र सप्तरीमा नयाँ क्रियाशील सदस्ताबारे विवाद छ। यस्तै धनुषा, सर्लाही, सिन्धुपाल्चोक र रसुवाका केही वडासहित करिब एक सय वटा वडामा विवाद छ।
विवाद हल गर्न नसक्दा साउन १२ मा हुने वडा अधिवेशन स्थगित छ।




