एजेन्सी, ३१ चैत्र । फोर्ब्स पत्रिकाको धनी फुटबल क्लबको सूचीमा रियल म्याड्रिडलाई उछिन्दै बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ ।
पछिल्लोपटक दुई वर्षअघि जारी भएको सूचीमा रियल शीर्ष स्थानमा रहेको थियो । तर, ४ अर्ब ७६ करोड डलरसहित यस पटक बार्सिलोना शीर्ष स्थानमा पुगेको छ । २ वर्षमा बार्सिलोनाको मूल्यमा १८ प्रतिशतले वृद्धि भएको छ । रियल म्याड्रिड भने दोस्रो स्थानमा झरेको छ । रियलको ४ अर्ब ७५ करोड डलर मूल्य रहेको छ ।
शीर्ष १० स्थानमा ६ वटा इङ्ग्लिस क्लबहरू रहेका छन् । जसमा म्यानचेस्टर युनाइटेड, लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल र टोटनह्याम रहेका छन् । त्यस्तै, बायर्न म्युनिख र पेरिस सेन्ट जर्मन पनि शीर्ष १० मा अटाएका छन् । यी टोलीमध्ये पीएसजीको सर्वाधिक १२९ प्रतिशतले मूल्यमा वृद्धि भएको छ भने लिभरपुलको ८८ प्रतिशतले वृद्धि भएको छ ।




