काठमाडौँ, १० चैत । बङ्गलादेशमा दुई दिने राजकीय भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किँदै छिन्।
हिजो बिहान ढाका पुगेकी भण्डारी आज अपराह्न काठमाडौँ फर्कने कार्य तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बङ्गलादेश भ्रमणका क्रममा भण्डारीले उच्चस्तरीय भेटवार्ता गरेकी छिन्। गए राति बङ्गलादेशी समकक्षी मोहम्मद अब्दुल हमिद र भण्डारीबिच द्विपक्षीय भेटवार्ता भएको थियो।
भेटवार्तामा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, बङ्गलादेशका विदेश मन्त्री डा. एके अब्दुल, बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलगायत दुवै देशका उच्चपदस्थ अधिकारी सहभागी भएका थिए।
बङ्गलादेशको राष्ट्रपति निवास बंग भवनमा गए राति भएको भेटवार्तापछि दुई देशबिच पर्यटन, संस्कृति, स्यानिटाइजेशन र ट्रान्जिटबारे समझदारी पत्र आदान प्रदान भएको थियो।
राष्ट्रपति भण्डारीले ढाकास्थित ‘नेशनल परेड स्क्वास’मा आयोजित ‘नेपाल–बङ्गलादेश सम्बन्ध र बंगबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन्।
यसैबिच परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको जारी बङ्गलादेशको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबिचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने बताएका छन्।
भ्रमणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्ञवालीले दुई देशको व्यापारिक सम्बन्ध विस्तारका लागि भारतसँगको सहयोग र सम्बन्ध विस्तारमा पनि दुवै देशले समान प्राथमिकता दिएको बताएको छ ।




