काठमाडौं , १८ फागुन । सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन्। पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन उनीहरूको सुझाव छ।
कोभिड १९ खोपविज्ञ सल्लाहकार समितिका संयोजक एवं वरिष्ठ खोपविज्ञ डा। श्यामराज उप्रेतीले कोभिसिल्ड खोप ७१ प्रतिशत मात्र प्रभावकारी भएको जानकारी दिए। उनले भने, ‘सय जनाले खोप लगाएमध्ये झण्डै ३० प्रतिशतलाई कोरोना संक्रमण हुने सम्भावना हुन्छ। खोप लगाए पनि सुरक्षा मापदण्ड पालना गर्नुपर्छ।’
कोभिसिल्ड खोपको पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने डा। उप्रेतीले बताए। उनले भने, ‘दुई डोज लगाएपछि खोपको प्रभावकारिता लामो समयसम्म हुन्छ । कति लामो समयसम्म प्रभावकारि हुन्छ भन्नेबारे अध्ययन भइरहेको छ।’
भारतले अनुदानमा उपलब्ध गराएको कोभिसिल्ड खोप हालसम्म ४ लाखभन्दा बढीले लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो खोप कम्तीमा ८ हप्ताको फरकमा दुई मात्रा लगाउनुपर्ने विज्ञहरूको सुझाव छ। पहिलो मात्रा कोभिसिल्ड खोप लगाएपछि दोस्रो मात्रा पनि कोभिसिल्ड खोप नै लगाउनुपर्ने उप्रेतीले बताए।
प्रभावकारिताका दृष्टिले खोप लगाएका मध्ये झण्डै १ लाख २० हजार संक्रमणको जोखिममा रहेको विज्ञ बताउँछन्। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०का निर्देशक डा। कृष्ण पौेडेलले भने, ‘ खोपको दोस्रो डोज (मात्रा) पाइसकेका छैनन्। सुरक्षा मापदण्ड नअपनाउनेहरूलाई खोप लगाएकाहरूलाई पनि कोरोना संक्रमण हुन सक्छ।’
भारतस्थित सेरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित खोप अभियानका रूपमा लगाउन थालिएको छ। अनुदानको १० लाख मात्रा कोभिसिल्ड खोप अभियानका रूपमा ७७ वटै जिल्लामा सुरु भइसकेको छ। उक्त खोप अक्सफोर्ड युनिभर्सिटी र औषधि उत्पादक कम्पनी आस्ट्राजेनेकाले संयुक्त रूपमा विकसित गरेका हुन्। कम लागत रहेको कोभिसिल्ड खोप फागुन ५ गते सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खरिद गर्ने सम्झौता गरिएको थियो। यो खबर आजको अन्नपूर्णपोस्टमा छ ।




