जनकपुरधाम, १८ माघ । प्रदेश २ मा छोरीहरु जन्मिँदै अब तीन लखिया हुने भएका छन्। प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गतको छोरी शिक्षा बीमाको रकम तीन लाख पुर्याएको छ।
२०७५ माघ १ पछि प्रदेशका आठै जिल्लामा जन्मेका छोरीहरुको १ लाखको शिक्षा बिमा गर्ने घोषणा गरेको सरकारले सो रकमलाई अर्को वर्षमा तेब्बर बनाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले रकम बढाएर ३ लाख गर्ने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले बताएका छन्। राउतले मुख्यमन्त्री कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी बिमाको रकम बढाइएको जानकारी गराएका हुन्।
सरकारको निर्णयको कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पर्सामा एक कार्यक्रममा बिमा योजना आरम्भ भएको थियो। कार्यक्रमअन्तरगत गत आर्थिक वर्षमा ४ हजार ३ सय ७३ नवजात छोरीहरुको बिमा भइसकेको छ। त्यसैगरी ३ हजार १ सय १८ नयाँ फर्महरु भरिएका छन् जसको सबै प्रकृया पूरा भएर बिमाको रकम पठाउन मात्र बाँकी रहेको छ।

त्यसैगरी बिमा कार्यक्रम प्रभावकारी बनाउन स्थानीय तहमा सञ्चालित शिविरहरुमा पनि बिमा गरिएको थियो। हालसम्म करिब १५ हजार विमा गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। यसअघि बिमा गराइसकेका छोरीहरुले पनि बढाइएको रकमको सुविधा पाउने छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।




