काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि नेकपाका दुवै समूह ठुल्ठूला सभा गर्दै देश दौडाहामा छन् । तर, कांग्रेसले भने संसद् विघटनको विरोधमा सोमबार बल्ल जिल्लास्तरीय शक्ति प्रदर्शन र विरोध सभा गरेको छ ।
तेस्रो चरणको अन्तिम विरोध कार्यक्रममार्फत कांग्रेसले संसद् विघटनको मुद्दामा अदालततिर ध्यान केन्द्रित गरेको छ । यसपटक पनि नेताहरूले गुटगत रूपमा विभाजित मत व्यक्त गरे । तर, सबैको बोली अदालतको फैसलातर्फ केन्द्रित देखियो । सभापति शेरबहादुर देउवाले नेकपाको झगडाले आफ्नो पार्टीमा समस्या आएको बताए ।
‘गिरिजाप्रसाद कोइरालाले राजालाई हटाएर प्रचण्डलाई भारतबाट ल्याएर सत्तामा पु¥याए । तर, प्रचण्ड आफैँ राजा हुन अघि सरे, अहिले ओली र प्रचण्ड राजाभन्दा पनि ठूलो राजा हुन खोजे, त्यहीकारण उनीहरूको झगडा भयो,’ देउवाले भने, ‘अब अहिले आपसमा कुर्सीका लागि मारामार भयो, हाम्रोमा त यस्तो झगडा कहिल्यै छैन, बरु उनीहरूको झगडाले हामीलाई समस्या परिराखेको छ, हाम्रै पार्टीमा कोही ओली ठीक भन्छ, कसैले प्रचण्ड ठीक भन्छ । तर, हामी कतैतिर लागेर काम गरेका छैनौँ ।’

देउवाले अदालतमा विचाराधीन मुद्दामा बोल्न नहुने भन्दै अदालतले निष्पक्ष निर्णय दिने विश्वास रहेको बताए । ‘अदालतले संसद् फिर्ता गर्छ भने पनि हामीलाई ठीक छ, चुनावतिर जाऔँ भन्यो भने पनि ठीक छ, सर्वोच्च अदालतभन्दा ठूलो अर्को अदालत छैन,’ देउवाले भने, ‘त्योभन्दा ठूलो जनता हो । अदालतले जनतामा जाने बाटो देखाइदियो भने पनि हामी तयार छौँ ।’ यो खब आजको नयाँपत्रिकामा छ ।




