हुम्ला, १७ माघ । हुम्लाको सर्केगाड गाउँपालिकाका यी दुई घटना कर्णालीका अधिकांश नागरिकका साझा पीडा हुन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीको उदासीनता तथा चामल ढुवानी गर्ने ठेकेदारको चरम लापरबाहीका कारण कतिपय जिल्लामा एक–डेढ वर्षदेखि चामल नै पुगेको छैन, पुगेका ठाउँमा पनि कुहिएर खानै नमिल्ने चामल छ । नागरिकले पैसा तिरेर पनि सद्दे चामल खान पाउँदैनन् ।
गुणस्तरीय चामल नपाउने सर्वसाधारणलाई ठेकेदारले मूल्यमा समेत ठग्ने गर्छन् । जिल्लास्थित खाद्य डिपो र बिक्री केन्द्रहरूमा खाद्यका कर्मचारीहरूले चामल बिक्री गर्नुपर्ने हो । तर, कर्मचारी अभाव रहेको बहानामा कतिपय ठाउँमा खाद्यले ढुवानीको ठेक्का लिएको ठेकेदारलाई नै बिक्री गर्ने जिम्मा पनि दिएका छन् ।
ठेकेदारले तोकिएभन्दा बढी मूल्यमा चामल बिक्री गर्ने गरेको स्थानीय बताउँछन् । बिक्री सक्ना साथ ठेकेदार वा उनका कर्मचारी फर्किन्छन्, त्यसैले चामलको गुणस्तरबारे ग्रामीण भेगका जनताले गुनासोसमेत गर्न पाउँदैनन् ।
हुम्लाको सर्केगाडस्थित बालुकुना डिपोमा हिमाल निर्माण सेवा कम्पनीले सुर्खेतबाट मुगुको सोरुकोट हुँदै चामल ढुवानी गरेको थियो । कम्पनीका सञ्चालक प्रदीप टमटा कुहिएको चामल हतारहतार बिक्री गरेर मुगु फर्किएका छन् । उनकै अनुसार बालुकुना बिक्री केन्द्रमा अझै सात क्विन्टल कुहिएको चामल त्रिपालले छोपेर थन्क्याइएको छ ।
ढुवानी गर्दा गाडीचालकले भिजाएर ल्याएका कारण चामल कुहिएर समस्या आएको ठेकेदार टमटाले बताए । बालुकुना बिक्री केन्द्रका लागि अझै चामल ल्याउनुपर्ने भए पनि ठेकेदारले ध्यान दिएका छैनन् । महँगो मूल्यमा ढुवानी गरिएको चामलसमेत स्थानीयले गुणस्तरीय खान पाउँदैनन् । सरकारले यो वर्ष हुम्लामा दुई हजार आठ सय ७५ टन चामल ढुवानी गर्न २५ करोड ८५ हजार छुट्याएको छ ।

हुम्लामा कुहिएको चामल ढुवानी गरेको टमटाकै कम्पनीले सुर्खेतबाट मुगुको कार्मारुम, सोरुकोट र कालै बिक्री केन्द्रमा पनि चामल ढुवानीको ठेक्का पाएका छन् । सोरुकोट र कार्मारुममा एक–एक हजार क्विन्टल तथा कालै बिक्री केन्द्रमा आठ सय क्विन्टल चामल उनले ढुवानी गर्नेछन् । यो खबर नयाँपत्रिकामा छ ।




