काठमाडौं, ११ माघ । पत्रकारलाई सम्मान र संस्कारको पाठ पढाउने प्रधानमन्त्री केपी ओलीले आफूसँग असहमतको विषयमा टिप्पणी गर्दा भने मर्यादाका सारा सीमा नाघ्दै आएका छन् । राजनीतिक प्रतिस्पर्धी मात्र होइन, पूर्वप्रधानन्यायाधीश र वरिष्ठ अधिवक्ताहरू, प्रोफेसर र बुद्धिजीवीहरू, लेखक तथा पत्रकारहरूलार्ई प्रधानमन्त्रीले अवहेलना गर्दै आएका छन् ।
वरिष्ठ अधिवक्ता कृृष्णप्रसाद भण्डारी बहसका लागि सर्वोच्चमा गएका दिन प्रधानन्यायाधीशसहितका न्यायाधीशहरूले सम्मान र संयमका साथ सुने । अरू अधिवक्तालाई समय तोकिएको थियो, तर वरिष्ठ अधिवक्ता भण्डारीलाई इजलासले समयको पावन्दी लगाएन । ९४ वर्षीय भण्डारीले ६३ वर्षदेखि अदालतमा न्यायको पक्षमा पैरवी गर्दै आएका छन् ।
भण्डारी नेपाल ल क्याम्पसको पहिलो ब्याचका विद्यार्थी हुन् । ल क्याम्पसमा १६ वर्ष पढाउँदा मात्र होइन, नेपालको पहिलो ल फर्म ‘नेपाल ल फर्म’बाट उनले धेरै कानुन व्यवसायीलाई प्रशिक्षित गरेका छन् । पूर्वप्रधानन्यायाधीश केदानथाथ गिरीदेखि गोविन्दबहादुर श्रेष्ठलाई भण्डारीले नै कानुन सिकाएका हुन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्ददेखि संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई कानुन पढाएका हुन् ।

अध्ययन, अध्यापनमा मात्र होइन, राजनीतिक स्वतन्त्रताको लडाइँमा पनि भण्डारी एक योद्धा हुन् । उनलाई राजा महेन्द्रले प्रधानन्यायाधीशसम्मको ‘अफर’ गर्दा उनले अस्वीकार मात्र गरेनन्, बरु पञ्यायती व्यवस्थाद्वारा राजद्रोहको मुद्दा लगाइएका बिपी कोइराला, डा। केआई सिंह र रामराजाप्रसाद सिंहको मुद्दा लडे । राजनीतिक दृष्टिकोण राखेकै कारण ०३२ मा सहाना प्रधानसहित भण्डारीलाई पनि पञ्चायती शासनले नेपाल ल क्याम्पसको अध्यापकबाट बर्खास्त गरेको थियो । तर, उनले निर्भीक र निरन्तर रूपमा राजनीतिक बन्दीको पक्षमा पनि मुद्दा लडिरहे । यो खबर आजको नयाँपत्रिकामा छ ।




