काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि तत्काल राजनीतिक व्याख्या गरे पनि आन्दोलन वा चुनावी तयारीमा जाने भन्नेमा अलमलमा रहेको कांग्रेस अन्ततः आन्दोलनकै बाटोतिर लागेको छ । पार्टीभित्रको दबाब र वैशाखमा प्रधानमन्त्रीले निर्वाचन गर्छन् भन्नेमा अविश्वास बढेकोले सभापति शेरबहादुर देउवाले कांग्रेसलाई आन्दोलनतर्फ मोडेका छन् ।
दोस्रो चरणको आन्दोलनका रूपमा कांग्रेसले केन्द्रदेखि वडासम्मका कार्यक्रम घोषणा गरेको छ । कांग्रेसले २५ पुसमा तीन सय ३० वटै प्रदेश निर्वाचन क्षेत्र, ३ माघमा सात सय ५३ वटै पालिका र ८ माघमा ६ हजार सात सय ४३ वटै वडामा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
अहिले सरकार अलोकप्रिय भएको र सत्तारुढ दल नेकपा पनि विभाजन भएको वेला चुनावमा जानु उत्तम हो भन्ने सभापतिको बुझाइ थियो । ‘अझ चुनावमा जाँदा महाधिवेशन पनि टार्न सकिने र भोलि सरकारमा भएपछि महाधिवेशनलाई पनि प्रभावित गर्न सकिनेमा सभापति विश्वस्त हुनुहुन्थ्यो,’ कांग्रेसका एक प्रभावशाली नेताले नयाँ पत्रिकासँग भने, ‘तर, यो सरकारले वैशाखमा चुनाव गर्ने सम्भावना कम छ । चुनाव नभए त देश अन्धकारमा जान्छ । त्यसैले कांग्रेस संसद् पुनस्र्थापनाको पक्षमा लागेको हो ।’
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका अनुसार चुनाव पनि हुँदैन कि भनेर सभापति देउवा डराएका छन् । ‘प्रधानमन्त्रीजीले अदालतलाई प्रभावित पारेर संसद् पुनस्र्थापना गर्न दिनुहुन्न र निर्वाचन पनि गर्नुभएन भने त्यसपछि के हुन्छ रु कांग्रेसलाई सन्देह छ,’ सिटौलाले नयाँ पत्रिकासँग भने, ‘देशमा संसद् पनि नहुने, निर्वाचन पनि नहुने भयो भने त्यसले देश दुर्घटनामा जान्छ । यसलाई रोक्नका लागि कांग्रेसको अहिलेको संघर्ष हो । सभापतिजीले नै त्यो निर्णय गर्नुभएको छ, अब यसमा शंका गर्नुपर्ने ठाउँ नै छैन । दोधारमा हुनुपर्ने कारण नै छैन ।’
संसद् विघटनलाई कांग्रेसले असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख भने पनि सरकारको कदमविरुद्ध आन्दोलनबारे कांग्रेसमा एकमत थिएन । सभापति शेरबहादुर देउवा ‘उपस्थिति’का लागि सांकेतिक आन्दोलन गरे पनि पार्टीको मूल ध्यान चुनावी तयारीमा लगाउने योजनामा थिए । तर, पार्टीभित्रकै दबाब र अन्य दलसमेत आन्दोलनमा होमिएपछि देउवा दोस्रो चरणको आन्दोलनका लागि पनि तयार भएका हुन् ।

‘सभापतिजीको मानसिकता आन्दोलन तत्काल गर्ने भन्नेमा थिएन, तर पार्टीभित्रको दबाब र जसपा, नेकपालगायतको आन्दोलन घोषणाले थप दबाब सिर्जना भयो,’ केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने, ‘सरकारको कदम असंवैधानिक हो भन्ने ठहरले कांग्रेसलाई आन्दोलनको बाटोमा धकेलेको हो, त्यसपछि सामान्य मतमतान्तर लोकतान्त्रिक पद्धति हो, सामान्य मान्नुपर्छ, कांग्रेसको आन्दोलन निरन्तर छ ।’ विगतमा आफैँ संसद् विघटन गरेको इतिहासले पनि देउवामाथि दबाब बनाइरहेको थियो । यो खबर आजको नयाँपत्रिकामा छ ।




