काठमाडौं, १८ पुस । विश्वमा पाइने २४ प्रजातिका गोहीमध्ये नेपालमा घडियाल र मगर गरी दुई प्रकारका गोही पाइन्छन् । घडियालको थुतुनो लामो हुन्छ भने मगरको छोटो र थेप्चो हुन्छ ।
घडियाल सफा र निरन्तर बगिरहने ठूलाखाले नदीहरूमा मात्र पाइन्छन् भने मगर यस्ता नदीका अलावा पनि तालतलैया, पोखरी, तलाउ घोलघाल, जलाशय र वर्षायाममा धान खेतमा समेत देख्न सकिन्छ । घडियालको मुख्य आहारा माछा हो भने मगरले माछाको अलावा जंगली जनावर एवं घरपालुवामा कुकुरको समेत सिकार गर्दछ । वर्तमान समयमा मगरको संख्या लोप हुने अवस्थामा नभए पनि घडियाल भने अति संकटापन्न अवस्थामा पुगेको छ ।
सन् १९५० ताका बर्मा, बंगलादेश, भुटान र पाकिस्तानका नदीहरूमा घडियाल प्रशस्तै पाइन्थे । त्यसताका नेपालको नारायणीमा दुई सय ३५ वटा घडियाल पाइएको तथ्यांक भेटिन्छ । तर, वासस्थान विनाशले गर्दा सन् १९७० को दशकमा आएर संसारभर घडियालको संख्या दुई सयकोे हाराहारीमा र नेपालको नारायणीमा केवल ५७ वटामा सीमित रहेको थियो ।

हाल आएर बर्मा, बंगलादेश, भुटान र पाकिस्तानका नदीहरूबाट घडियाल लोप भइसकेको अवस्था रहेको छ भने नेपाल र भारतका केही नदीहरूमा न्यून संख्यामा अझै पनि पाइन्छन् । हाल नेपाल र भारतमा गरेर ६ सयजति परिपक्क उमेरका घडियाल रहेका छन । भनिन्छ, घडियाल गोही बाघभन्दा २० गुणा दुर्लभ तथा अतिसंकटापन्न सूचीमा पर्न गएको छ । नदीको किनारमा रहेका अग्ला बालुवाका ढिस्काहरूमा घडियालले जाडो याममा घाम ताप्ने, प्रजननको समयमा अन्डा पार्ने र बच्चा कोरल्ने गर्छन् । तर, कोरलिएका सबैलाई बचाउन सक्दैनन् । यो खबर नयाँपत्रिकामा छ ।




