काठमाडौँ, १४ पुस । ‘प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लागेपछि सरकार स्वतः काम चलाउ हुन्छ, काम चलाउ सरकारले संविधानविपरीत र बजेटमा नभएका कुरा लागू गर्न सक्दैन,’ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ माघ १५ गते पार्टी कार्यालय धुम्बाराहीमा चेम्बर अफ कमर्सको कार्यक्रममा भनेका थिए, ‘संविधानविपरीत निर्णय गरेर यो सरकारले बर्बाद पार्यो ।’
त्यही वर्ष फागुन ३ गते ओली प्रधानमन्त्री भए । काम चलाउ अवस्थामा रहँदा शेरबहादुर देउवा सरकारले गरेका निर्णय फिर्ता लिने सिलसिला फागुन ६ गते बसेको मन्त्रिपरिषद् दोस्रो बैठकबाट सुरु भयो ।

दोस्रो कार्यकालमा काम चलाउ रहेकै अवस्थामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले जलाशययुक्त बूढीगण्डकी परियोजना चिनियाँ कम्पनीलाई दिने भनेर गरेको निर्णय देउवा प्रधानमन्त्री भएपछि उल्ट्याइदिए । उनको पनि तर्क थियो, राजीनामा दिइसकेको काम चलाउ सरकारले महत्त्वपूर्ण र बहुआयामिक निर्णय गर्नु हुँदैन । यो खबर कान्तिपुर दैनिकमा छ ।




