काठमाडौं, ९ पुस । औपचारिक रूपमा विभाजन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षका नेताहरू आ–आफ्नो पक्षमा नेता–कार्यकर्ता ल्याउन भरमग्धुर प्रयासमा जुटेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै पक्ष आफ्नो समूहबाट अर्को समूहतर्फ नेता–कार्यकर्ता चोर्न नदिन विभिन्न उपाय अवलम्बन गरिरहेका छन् । दाहाल–नेपालनिकट नेताहरू बुधबार दिनभर नै आफ्ना निकटहरूसँग सम्पर्कमा रहे । ओली पक्षमा रहेका केन्द्रीय सदस्यहरूलाई हटाएर नेपाल पक्षका नेताहरूलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने तयारी पनि उक्त समूहमा भइरहेको छ ।
त्यसैगरी नेपाल पक्षबाटै पार्टीको महासचिव चयन गर्ने तयारी पनि भएको छ । महासचिवको नाम भने तय भइसकेको छैन । भीम रावल र सुरेन्द्र पाण्डेमध्ये एकजना महासचिव चयन हुने नेपालनिकट नेताले बताए ।
महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीलाई साथ दिएपछि उनको स्थामा महासचिव छान्न लागिएको हो । पार्टी एकता कायम रहेको बताउँदै आएका दाहाल–नेपाल समूहले केन्द्रीय कमिटी बैठकबाटै महासचिव छान्ने र अन्य केन्द्रीय सदस्य थप गर्ने भएको हो ।
दाहाल–नेपाल समूहका नेताहरूले जिल्लाजिल्लाबाट केन्द्रीय सदस्यका लागि उपयुक्त हुने नाम संकलन गरिरहेका छन् । उनीहरूले एकदुई दिनभित्रै पूर्वएमालेका तर्फबाट प्रतिनिधित्व गर्नेगरी करिब १ सय ४० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

‘ओली समूहतिर रहनुभएका साथीहरूका स्थानमा पूर्वएमालेकै साथीहरूलाई मनोनयन गरिनेछ,’ नेता माधवकुमार नेपालनिकट एक नेताले भने । यो समाचार आजको नागरिक दैनिकमा छ ।




