काठमाडौं, मंसिर २२ । पर्याप्त विद्युत् उत्पादन गर्ने र त्यसको गुणस्तरीय प्रसारण तथा वितरण गरेर जस्तोसुकै अप्ठ्यारो अवस्थामा पनि ऊर्जा उपलब्धता सुनिश्चित गराउने गरी सरकारले काम गरिरहेको जनाइएको छ ।
पछिल्लो समय यो क्षेत्रको पूर्वाधार विस्तारमा सन्तोषजनक प्रगति हासिल हुँदै गएको र त्यसको परिणामस्वरूप पेट्रोलियम आयात ठप्प भइहाले पनि ऊर्जा सङ्कट नहुने गरी सरकारको कदम अघि बढिरहेको दाबी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गर्नुभएको हो ।
२०७२ सालको भूकम्प र त्यसपछिको नाकाबन्दीका समयमा डिजेल÷पेट्र«ोलको आयात ठप्प हुँदा नेपालीले सास्ती बेहोर्नुपरेको थियो तर मन्त्री पुनले अबका दिनमा पर्याप्त विद्युत् उत्पादन र वितरण हुने भएकाले पेट्र«ोलियम पदार्थको आयात रोकिए पनि फरक नपर्ने बताउनुभएको हो ।
विद्युत् प्रसारण लाइन निर्माणमा भएको समस्याबारे छलफल गर्न मन्त्रालय पुुगेका धादिङका जनप्रतिनिधि तथा स्थानीयसँगको छलफलमा सरकारले ऊर्जामा आत्मनिर्भरताका लागि नीति, कार्यक्रम र रणनीति बनाएरै काम गरिरहेकाले ऊर्जामा आत्मनिर्भर र सुनिश्चित हुने अवस्था आउने बताउनुभएको हो ।

१० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने, त्यसमध्ये १० हजार मेगावाट स्वदेशमै खपत गराउने र पाँच हजार मेगावाट निर्यात गर्ने लक्ष्य सरकारको छ । अहिले जडित क्षमता एक हजार तीन सय मेगावाट छ भने यो वर्ष नै त्यो क्षमता दोब्बर हुने अपेक्षा सरकारको छ । यो खबर आजको गोरखापत्रमा छ ।




