कााठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी ओलीमाथि पार्टीभित्रैबाट राजनीतिक र नैतिक संकट आइलागेको छ ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदन खारेज गर्न र पार्टी कमिटीमा छलफलसमेत नगर्न ओलीले मौखिक र लिखित रूपमा राखेको प्रस्ताव सचिवालयले अस्वीकार गरेपछि ओली नैतिक संकटमा परेका छन् ।
त्यस्तै, लिखित रूपमा ओलीद्वारा प्रस्तुत प्रस्ताव पनि बहुमतबाट अस्वीकार हुने अवस्था आएपछि उनले आगामी बैठकमा उपस्थित नहुने सन्देश दिएका छन् । पार्टी प्रमुख नै बैठकमा उपस्थित नहुने यो अवस्था इतिहासमा बिरलै भेटिन्छ ।
सत्तारुढ नेकपा सचिवालयको मंगलबारको बैठकको सुरुवातमै ओलीले प्रचण्डको प्रस्तावमाथि छलफल नगर्न अडान लिएका थिए । उनले यही प्रस्ताव गत शनिबारको बैठकमा पनि लिखित र व्यवस्थित रूपमा राखेका थिए ।
३८ पृष्ठ लामो प्रतिवेदनमा ओलीले प्रचण्डको प्रतिवेदनलाई ‘पार्टीमा विग्रह निम्त्याउने कथित प्रस्ताव सचिवालय बैठकबाट खारेज गरौँ’ भन्ने प्रस्ताव गरेका थिए । तर, मंगलबारको बैठकले भने उनको माग अस्वीकार गर्दै ओली र प्रचण्ड दुवैको प्रस्तावमाथि छलफल अघि बढाएको छ ।

त्यस्तै, अध्यक्ष ओलीले सबै बैठक रोक्न माग गरे पनि सचिवालयले पूर्वनिर्धारित सूचीअनुसार १८ मंसिरमा स्थायी कमिटी र २५ मंसिरमा केन्द्रीय कमिटी बैठक अघि बढाउने भएको छ । यो खबर आजको नयाँपत्रिकामा छ ।




